काँग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा, गठवन्धनप्रति नै विमति

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले काँग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको बताए । 

पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको भन्दै थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताए । पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको उनको भनाई थियो । थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताबोध हुन थालेको बताए । 

Advertisement

थापाले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो ।  केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धन भन्दा चुनाव जित्नको लागि । यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन् । सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो । निर्वाचनदेखि निर्वाचनको गोल चक्कर । यो मात्रै सबै कुरा भयो । हाम्रो आफ्नै पार्टीभित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ ।  सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताबोध हुन थालेको छ ।’

उनले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । थापाले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए । उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनीकरणका लागि पहल हुन नसकेको बताए । 

महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्युनिकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए । उनले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने ? रोकथाम कसरी गर्ने ? अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने ? भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । 

थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । उनले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरुले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपियाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी गरे । 


थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरुले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए । उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सिमित भएको बताए । 
 

Advertisement

Advertisement