मोटरसाइकल बेचेर घाँस खेती गर्दा पागलको उपमा पाएका गोकर्ण यसरी सफल हुँदैछन्

Advertisement

रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बनेका छन्, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । 

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन् । उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गरेका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउँछन् । उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउँछन् ।  

Advertisement

उनले साउन २०७६ देखि ८० हजार रुपियाँ घाँस खेती सुरु गरेर त्यसलाई  अहिले ५० लाख रुपियाँभन्दा बढी पुर्याएका छन् । उनले गत जेठदेखि  भदौसम्ममा १९ लाख रुपियाँको घाँसको बिरुवाहरू बिक्री गरेका हुन् । उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गरे ।  

उनीसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उनले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन् । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन् । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरेका छन् । उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताए । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउँछन् ।  

रोजगारी सिर्जना
गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्छन् ।  ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ”, गोकर्ण भन्छन् । उृनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् ।  

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन् । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखे । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए ।  

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उनको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन् । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहे । उनी हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउँछन् ।

मोटरसाइकल बेचेर लगानी
गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे । केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरे । उनले ८० हजार रुपियाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपे । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए । उनले यसलाई सफलताको रूपमा लिएका छन् ।  

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए । “मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ”, गोकर्णले भने । घाँस खेती गरेर अन्य पालिकामा  निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ । 

पागलको उपनाम पाएँ
ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । “सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्”, गोकर्णले भने । कर्मबाट प्रतिक्रिया दिने अठोट बोकेका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउँछन् । “सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ”, उनले भने । 

गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए । “वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्”, उनले भने, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उहाँको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउँछन् । 

हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उनी अरूलाई सुझाउँछन् । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ । “सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ”, उनले भने, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।” श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनले बताए । 

खेस्रामा पनि अब्बल गोकर्ण
गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराउनुभएको छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताए । 

उनले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गरेका छन् । उनले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताए । गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उनीहरुलाई उपलब्ध गराइसकेका छन् । रासस 

Advertisement

Advertisement