गोदावरी फूल प्रदर्शनीमा हरिवंशदेखि शेखर गोल्छासम्म, भारतबाट सयपत्री आयात बन्द

Advertisement

काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशनले बताएको छ । 

बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए । 

Advertisement

उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताए । तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताए । उनले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भएपनि यो वर्ष रोक लगाएको बताए । 

तामाङले सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको बताए । उनले नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको भन्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताए । उनले १० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहने दाबी गरे । 

तामाङले सरकारले प्लाष्टिक जन्य फूलहरुको बिक्री वितरण सूचना प्रकाशित गरेर मात्रै नियन्त्रण हुने अवस्था नभएको भन्दै बजार अनुगमनलाई तिब्रता दिनुपर्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए । उनले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताए । 

गोल्छाले पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले पुष्प व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने बताए । उनले पुष्प व्यवसाय थप विकास र बिस्तार गर्नको लागि सरकारले पूर्वाधार विकासमा लगानी गर्नु आवश्यक रहेको बताए । 

गोल्छाले मुलुकको आर्थिक समृद्धि किसानहरुको माध्यमबाट हेर्न जरुरी भएको बताए । उनले अब नेपाली उत्पादनमा उच्च भ्यालु एडिसनमा जानुपर्ने अवस्था आएको बताए । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्था रहेको भन्दै फूलको निर्यातबाट अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । 

कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरुलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताए । 

केसीले पुष्प व्यवसाय बिस्तार र बजारिकरणको लागि निजी क्षेत्र र सरकार समन्वय गर्ने जरुरी रहेको बताए । सरकारले फूल आयात निर्यातको लागि आवश्यक नीति कहाँ परिर्वतन गर्नुपर्छ त्यो गर्न तयार रहेको उनको भनाई छ । 

कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मिनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने बताए । 

आचार्यले सरकारले पुष्प व्यवसायलाई आयआर्जनको उद्योगको रुपमा विकास गर्न सक्नुपर्ने बताए । उनले नेपाली वनजङ्लमा फूलेका राम्रा फूलहरुलाई व्यवसायीकरण गर्न सकियो भने पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्ने बताए । 

पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ । 

फ्लोरिकल्चर एशोसिएशनले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । 

तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने एशोसिएशनको अनुमान छ ।

Advertisement

Advertisement