पचास लाख बराबरको खानेतेल चोरी गरी बेच्ने चार जना सार्वजनिक

Advertisement

काठमाडौं । पचास लाख रुपियाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । 

Advertisement

उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीका कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर १ लिटरका १४ हजार ५६० र आधार लिटरको ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन । 

सुन्धिलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजि गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो । बारा प्रहरीले उजुरी गरेको ५ दिनपछि ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

उनले पक्राउ पर्नेमा ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरी कात्तिक ४ गते पक्राउ गरेको बताए । बोगटीले प्रहरीले चालक तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पक्राउ गरेको बताए । 

उनले ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ रमेश कुमारको घरमा तेल भण्डारण गरेको भेटिएको पनि बताए । प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम तीन हजार ११७ लिटर मात्रै तेल फेला परेको छ । 

बाँकी तेल उनीहरुले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने उनीहरुलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।  

Advertisement

Advertisement