संदीपलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग भएको प्रमाण पेश भइसक्योः सापकोटा

Advertisement

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग अर्थात १८ बर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेश भएको उनका वकिलहरुले बताएका छन् । 

संदीपका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार संदीपसँग मंगलबार बयान लिने क्रममा नै अदालतमा जन्मदर्ताको प्रमाण पेश भइसकेको हो । उनका अनुसार पीडित भनिएकी किशोरी २०६१ साल असार १८ गते जन्मिएको जन्मदर्ता फेला परेको छ ।

Advertisement

स्थानीय निकायमा ती किशोरीको जन्मदर्ता २०६१ असोज १८ गते भएको भनी प्रमाण जारी भए पनि उनले २०७९ असार १४ गते सच्याएर २०६२ जेठ १८ जन्ममिति राखी नागरिकता बनाएको देखिएको हो । 

किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्तासम्वन्धी प्रमाणमा २०६२ जेठ १८ उल्लेख भए पनि वास्तविक जन्ममिति २०६१ असार १८ गते भएको र उनी बालिग भएको भन्दै संदीपका वकिलहरुले किशोरीले उमेर धाँटेर आफूलाई नाबालिग भएको दावी गरेको औंल्याएका छन् । 

नागरिकताअनुसारको जन्ममिति अनुसार पीडित किशोरीको उमेर १७ वर्ष ४ महिना हुन्छ भने स्थानीय तहमा दर्ता भएको यसअघिको जन्मदर्तामा भने उनी १८ बर्ष भइसकेको देखिने संदीप पक्षको भनाई छ । वकिलहरुले जन्मदर्ता सच्याउनुभन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर मुद्दाको किनारा लगाउन अदालतसँग माग गरेका छन् । 

संदीपले आफू निर्दोष रहेको र आफूलाई फँसाउन बलात्कारको आरोप लगाउने काम भएको बताउँदै आएका छन् । तर किशोरीले भने बयानमा आफूलाई जबरजस्ती संदीपले दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । उनलाई अहिले माइती नेपालमा राखिएको छ । 

विद्यमान कानुनअनुसार १८ वर्षसम्मको किशोरीसँग सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार मानिन्छ भने त्योभन्दा माथिको उमेरमा भने राजीखुशीको सम्बन्धलाई बलात्कार मानिँदैन । सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको संदीप पक्षका वकिलहरुको भनाई छ । महिला अधिकारवादीहरुले भने संदीपलाई जसरी पनि सजाय हुनुपर्ने आवाज उठाउँदै आएका छन् । 

थुनछेक बहसको पहिलो दिन बुधबार दुवै पक्षका वकिलहरुले बहस गरेका थिए । 

Advertisement

Advertisement