चुनावको मुखमा विशेष अदालतबाट हारेका १२२ वटा मुद्दामा अख्तियारद्धारा पुनरावेदन

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । यसअघि विशेष अदालतबाट हारेकामध्ये १२२ वटा मुद्दा चुनावको मुखमा पुनरावेदन गर्नु अर्थपूर्ण देखिन्छ । 

आयोगले मंगलवार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९–८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । 

Advertisement

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । 

उनले त्यसमध्ये १२२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको भण्डारीले बताए । यी १८ मुद्दा कुन कुन हुन ? खुलाइएको छैन् । 

उनले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरेको बताए । भण्डारीले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए । सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पत्ति आर्जनको रहेको उनले बताए । 

पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरुमध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस–रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको भण्डारीले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहिन सामान खरिदको १ वटा रहेको उनको भनाई छ ।

प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए । 

Advertisement

Advertisement