निजी क्षेत्र पनि पूरानादेखि दिक्क, अब निर्वाचनपछि अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व चाहिन्छ’

Advertisement

काठमाडौं । निजी क्षेत्रले अब निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्वको खाँचो रहेको बताएको छ । पूरानो नेतृत्व आर्थिक विकासमा असफल भएको संकेत गर्दै निजी क्षेत्रले अर्थतन्त्र चलायमान गर्नसक्ने नेतृत्वको खाँचो रहेको बताएको हो । 

निजी क्षेत्रले अब निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएको छ । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । 

Advertisement

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष शेखर गोल्छाले अब निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने बताए । उनले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोके पनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको गुनासो गरे । 

गोल्छाले मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिए पनि मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँग सहकार्य कसरी गर्ने ? भन्ने विषयमा कुनै पनि पार्टी गम्भीर नभएको बताए । उनले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने बताए । अध्यक्ष गोल्छाले राजनीतिक दलहरु सिमित राजनीतिक एजेण्डाहरुमा मात्रै नभइ सिमित एजेण्डा भन्दा माथि उठेर पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकारको खाँचो रहेको बताए । 

अध्यक्ष गोल्छाले भने, ‘राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिकै कुरा गरेका छन् । तर त्यो बोलीमा मात्रै सिमित रह्यो । मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने ? र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने ? यो विषयमा कुनै पनि पार्टी गम्भीर देखिएन’

त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नयाँ नेतृत्वको खाँचो रहेको बताए । उनले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताए । 

अधिकारीले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व सरकारमा जानको लागि सबल र सक्षम उम्मेद्वारले निर्वाचन जित्नुपर्ने बताए । अधिकारीले मंसिर ४ गतेको निर्वाचनमार्फत नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पार्टीको नेर्तत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए । 

उनले भने, ‘हामी राजनीतिक आस्थाको रुपबाट कसैलाई केही भन्दैनौं । अबको यो निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने, अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नयाँ नेतृत्व आवश्यक छ । नेपाली सधैँ गरिव भइरहनुपर्ने कर्ममा लिएर आएको होइन । सुशासन सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन हुनसक्छ । देशमा समृद्धि कायम हुनसक्छ । त्यो हुनुको लागि मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नयाँ नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौं ।’

Advertisement

Advertisement