सामाजिक सुरक्षा कोषले थप्यो विभिन्न सुविधा, अब श्रीमानले सरह श्रीमतीले पनि उपचार खर्च पाउने

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवा सुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । 

आइतवार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपियाँ दिने व्यवस्था गरेको बताए । 

Advertisement

ज्ञवालीले सामाजिक योगदानमा आधाररित सुरक्षा कोषमा श्रीमानले योगदान गर्दा श्रीमतीले पनि श्रीमानसरह उपचार खर्च पाउने व्यवस्था गरेको पनि बताए । उनले सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको बताए । 

ज्ञवालीले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको बताउँदै कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारीमा रहेको बताए । 

मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने उनले बताए । ज्ञवालीले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको बताए । 

उनले भने, ‘सामाजिक सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाएर अगाडि बढेका छौं । जसमा पुस ५ गतेपछि श्रीमानले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा योदान गर्दा उसको श्रीमतीले श्रीमानसरह उपचारखर्च पाउँछन् भने श्रीमतीले कोषमा योगदान गर्दा श्रीमानले पनि सुविधा पाउने व्यवस्था गरको छ । त्यस्तै कोष योगदान गर्ने योगदान गर्ने योगदानकर्तालाई कोषले दिने सुविधाको अतिरिक्त विभिन्न १० वटा घातक रोगहरु लागेमा त्यसमा १० लाखसम्मको औषधि उपचारको अतिरिक्त व्यवस्था गर्ने भएको छ ।’

 ज्ञवालीले थपे, ‘सामाजिक सुरक्षा कोषले पाँच वर्षमा प्रवेश गर्दा धेरै आरोह अवरोह पार रहेको छ । अहिले कोषले सामाजिक सुरक्षाको दायरा बढाउने काम गरिरहेको छ । हाल बसेको कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाइएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयले पारित गर्छ । नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेछन् ।’ 

उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि पनि कार्यविधि बनाइएको बताए । त्यसमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च, असक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेका ज्ञवालीले जानकारी दिए । उनले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज भए मात्रै कोषको विश्वसनियता वृद्धि हुने भन्दै त्यसमा आफूहरुले जोड दिएको बताए । 

ज्ञवालीले पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको बताए । प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले बताएको छ । 

पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।  

Advertisement

Advertisement