जबरजस्ती बीमा गराई बीमितलाई दुःख दिए ठाउँको ठाउँ कारबाही गर्छौंः बीमा प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जबरजस्ती बीमा गराएर बीमितलाई दुःख दिनेलाई कारवाही गर्ने बताएको छ । गलत मनसाय राखी अभिकर्ता वा बीमा कम्पनीले बीमितलाई दुःख दिए उनीहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने प्राधिकरणले बताएको हो । 

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘अब पहिलेको जस्तो बीमितलाई ढिलासुस्ती गर्ने, झुक्याउने वा अन्य कुनै पनि अप्ठ्यारोमा पार्ने किसिमले बीमासँग सम्बन्धित क्रियाकलाप गरे प्राधिकरणले कारबाही गर्छ । हामीले ठाउँको ठाउँ कारबाही गर्छौ । यसको मतलब कारबाहीमा पनि ढिला नगरी तुरुन्तै हुन्छ भन्ने हो ।’ 

Advertisement

उनले सुदूरपश्चिमबाट आफूहरुलाई यस्ता खालका दुःख दिएका उजूरी आएको सुनाउँदै उजूरीमा बीमितले अभिकर्ता, बीमा कम्पनीले झुलाउने, झुक्याउने गरेको गुनासो आएको बताए । प्राधिकरणले बीमितको मुद्दामा समेत अब गम्भीरतापूर्वक न्याय निरुपण गर्ने बताउँदै पौडेलले गुनासाहरु आउँदा तत्कालै सुनावाई गर्न आफूहरु तयार रहेको बताए । 

कार्यकारी निर्देशक पौडेलका अनुसार वैदेशिक रोजगारीमा जाने म्यादी बीमाका बीमितहरुको दाबी भुक्तानीमा ठूलो समस्या देखिएको छ । यसमा जबरजस्ती बीमा हुने गरेको गुनासो प्राधिकरणमा आएका छन् । 

त्यस्तै, म्यादी बीमामा जीवन बीमा गर्न नचाहने बीमितलाई पनि जबरजस्ती बीमा गराउने गरिएको छ । अधिकांश बीमितले सास्तीका बीमा गराउने, दाबी भुक्तानीमा ढिलाई गर्ने गरेको गुनासो प्राधिकरणमा आएको हो । 

यद्यपि अरु मुलुकको तुलनामा नेपालमा बीमा जबरजस्ती बेच्नुपर्ने बाध्यता रहेको प्राधिकरण आफैले स्वीकार गरेको छ । तर म्यादी बीमामा भने दुःख दिने अवस्था निकै धेरै रहेको स्वीकार गर्दै धेरै गुनासा आएकाले कडाई गर्न लागिएको बताएको छ । बीमितले आफूले पाउनुपर्ने दाबी रकम पाउन ढिला हुने गरी कुनै पनि कम्पनीले काम गर्न नहुने प्राधिकरणको भनाई छ । 

म्यादी बीमा गरेका बीमितहरुको मृत्यु भएको अवस्थामा समेत केही बीमितलाई रकम थप्न लगाउने गरिएको छ । त्यस्तो नगर्न आफूहरुले निर्देशन दिएको पौडेलले बताए । सबै जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै त्यस्तो नगर्न भनिएको उनले बताए । 

पौडेलले थपे, ‘हामी अनुसन्धान गर्छौ त्यस्ता नचाहिँदा कामको । भएको रहेछ भने कारबाही गर्नु हाम्रो पनि दायित्व हुन जान्छ ।’

Advertisement

Advertisement