समग्र जीवन कल्याणको स्रोत हिमाल हो तर अहिले जलवायु परिवर्तनको चपेटामा परेको छः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन बिहीबारदेखि सुरु भएको छ । सन् २०२२ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलनको रुपमा मनाउने निर्णय गरेको सन्दर्भमा यो सम्मेलन आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । 

तीन दिने सम्मेलनमा पर्यतीय क्षेत्रसँग सम्वन्धित प्राध्यापक, विज्ञहरुले प्रस्तुतीकरण गर्दै कसरी जलवायु परिवर्तनबाट हिमालहरुमा परेको असर कम गर्न सकिन्छ ? छलफल गरी निचोडसहितको प्रतिवेदन सम्वन्धित पक्षहरुलाई बुझाइने छ । 

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र कोरोना महामारी अघिको अवस्थामा फर्किने क्रममा रहेको बताए । उनले पानी, जैविक विविधता, पर्यावरणीय विविधता र समग्र जीवन कल्याणको स्रोत हिमाल हो भन्दै जलवायु परिवर्तन, फोहोरमैला, प्रकोपका कारण हिमालहरु जोखिममा परेको, जसका कारण हिउँ पहिरो, तालहरू फुट्ने जोखिम बढेको बताए । 

हिमाल जस्ता प्राकृतिक सम्पदाहरूको महिमा जोगाउन र पर्यटन गतिविधिलाई दिगो रूपमा कायम राख्न सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । श्रेष्ठले सगरमाथा लगायतका अग्ला चुचुरा नेपालमा रहेकाले नेपाल हिमाली देश भएको बताउँदै सोही कारण पर्यटकहरूका लागि नेपाल लोकप्रिय साहसिक गन्तव्य बनेको बताए । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत भएकाले यसलाई नेपालले बढी प्राथमिकता दिएको बताए । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, युनिभर्सिटि अफ कोलोर्याडोका वरिष्ठ अनुसन्धान प्राध्यापक डा. अल्टोन सी बायर्स, नेपाल पर्वातारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल एसोसिएशन् अफ र्याफ्टिङ एजेन्सिज् (नारा)का अध्यक्ष शिव अधिकारी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला, गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष गोपाल थापालगायत पर्यटन र वर्यावरण क्षेत्रमा मानिसहरु सम्मेलनमा भेला भएका छन् ।  
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार दिगो पर्वतीय विकासको महत्व र हिमाली पर्यावरण संरक्षणका लागि चेतना अभिवृद्धि गर्न सम्मेलन गर्न लागिएको हो । भौतिक र सामाजिक अनुसन्धान विज्ञान, शिक्षा, विकास, कला, चलचित्र निर्माण, पर्यटन र संरक्षणका क्षेत्रहरू अन्वेषण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए । 

लामिछानेले हिमाललाई कसरी दिगो रुपमा विकास गर्ने ? र पर्यटन विकासलाई कसरी अघि बढाउने ? भन्ने सन्दर्भमा पर्यावरण क्षेत्रका संस्था तथा दातृ निकायसँग मिलेर बोर्डले सम्मेलन आयोजना गरेको बताउँदै भने, ‘जस्तै टे«किङ अपरेटरहरुले के गर्दा आफ्नो व्यवसाय दिगो रुपमा सञ्चालन गर्न सक्छन् ? कसरी हिमालको संरक्षण गर्दै साहसिक पर्यटनको विकास गर्न सकिन्छ ? त्यसको गाइडलाइन बनाएर पर्यटन क्षेत्रमा आवद्ध व्यक्ति, व्यवसायीमार्फत लागू गर्न सकिन्छ कि भने हाम्रो अपेक्षा छ ।
 

Advertisement

Advertisement