रेष्टुरेण्ट राति १२ बजेसम्म, क्लब र डिस्को बिहान ४ बजेसम्म खोल्न पाइने, व्यवसायी खुशी

Advertisement

काठमाडौं । काठमाडौंमा रहेका क्लब, डिस्को तथा रात्रिकालिन व्यवसाय संचालन गर्ने समय परिवर्तन भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार रेष्टुरेन्टहरु राति १२ बजेसम्म, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ । 

पहिले पनि यही समयमा सञ्चालन गर्न दिएको थियो अहिले लिपिबद्ध मात्र गरिएको समितिले जनाएको छ । गत भदौमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको थियो । 

Advertisement

व्यवसायीले भने रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । सोअनुसार गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा चौविसै घण्टा रात्रिकालिन व्यवसाय खोल्ने वातावरण बनाउन पत्राचार समेत गरेको थियो । त्यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीका अनुसार सरकारको निर्णय सकारात्मक भएको बताउँदै अर्थतन्त्र चलायमान गर्न रेस्टुरेन्टहरु अलि ढिलासम्म सञ्चालन गर्न अनुमति पाउनु राम्रो कुरा भएको बताए । 

उनले ठमेल क्षेत्रमा रातभर रात्रिकालिन व्यवसाय संचालन गर्न पाउने व्यवस्था हुनु् राम्रो कुरा हो भन्दै भने, ‘यसले एउटा सकारात्मक प्रभाव पर्छ । एक सिप्ट कर्मचारी राखेको छ भने  अब दुई सिप्टमा काम गराउन सक्छौं । यसले देशमा रोजगारी बढाउँछ । अर्थतन्त्र चलायमान हुन्छ । कारोबार बढ्छ । कारोबार बढेपछि सरकारलाई पनि फाइदा हुने भइहाल्यो । हामी त्यो अनुसारको कर तिर्छौं ।’ 

राजभण्डारीले रात्रिकालिन व्यवसायलाइ खुकुलो गरेसँगै सार्वजनिक यातायात सञ्चालनको समय पनि बढाउनुपर्ने बताए । उनले भने, ‘न्यूरोड, इन्द्रचोक, असनका अधिकांश व्यवसायीले ७– साढे ७ बजे नै पसल बन्द गर्नुको कारण के हो । किनभने त्यहाँ अधिकांश कर्र्मचारीलाई घर जान साँझमा सार्वजनिक सवारी साधनको सुविधा छैन् । मलाई पसल ढिलासम्म खोल्न मत लाग्ला तर कर्मचारीलाई घर जान सार्वजनिक सवारी साधन कम्तिमा ९–१० बजेसम्म सञ्चालन हुने व्यवस्था गरिदिए हुन्थ्यो । सार्वजनिक यातायात सञ्चालकहरुलाई नोक्सान हुने भयो भने सरकारले हेरिदिनुपर्यो । अफिसहरु, व्यवसायहरु अल्ली ढिलोसम्म खोल्दा पनि सुरक्षाको राम्रो प्रवन्ध गरिदिनुपर्यो ।’

हरेक व्यवसायीसँग प्रत्येक कर्मचारीलाई यातायातको व्यवस्था गर्नसक्ने क्षमता हुँदैन् भन्दै राजभण्डारीले पठाओ, टुटल जस्ता सेवा प्रयोग गर्न पनि सधैं र जुनसुकै बेला सहज नहुने बताए । अरु मुलुकमा जस्तै नेपालमा पनि सार्वजनिक यातायात सहज भइदिए रात्रिकालिन व्यवसायको राम्रो विकास हुने उनको भनाई छ । यसले आन्तरिक तथा बाह्य  पर्यटक प्रवद्र्धनमा समेत ठूलो सहयोग पुग्ने राजभण्डारीले बताए । 

उनले भने, यसले रेस्टुरेन्ट मात्र नभएर अन्य व्यवसाय बढाउन पनि धेरै सहयोग गर्छ । भोलिका दिनमा रेस्टुरेन्टमा आएर डिनर खाने बढ्छ । पर्यटकहरुले राति पनि घुमफिर गर्न सक्छ । उनीहरुले नाइट माकेट लागेको ठाउँहरु खोज्छन् । बैंककलगायत अन्य ठाउँमा रातिसम्म सडक व्यवसाय खुल्ला हुन्छ । नेपालमा चाहिं बन्द हुन्छ ।’

इबिजा लाउन्ज एण्ड बारका अध्यक्ष दावा तामाङले यसअघि नै सरकारसँग २४ घण्टा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिन आग्रह गर्दा नदिइएको गुनासो गरे । उनले भने, ‘गृह मन्त्रालयमा हामीले प्रोटोकल पुर्याएर २४ घण्टा खोलन पाउनुपर्छ भनेर माग राखेका थियौं । त्यसपछि ४ बजेसम्म खोल्नु भनेर निर्णय पनि भयो । अहिले नयाँ निर्णय चाहिं रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएछ । यो राम्रो निर्णय भयो । अब क्लब, डिस्को २४ घण्टा खोल्न पाउनुपर्छ भने हाम्रो माग छ ।’ क्लव तथा डिस्कोहरु बिहानसम्म खोल्न पायो भने हामीले दुई सिप्ट गरेर सञ्चालन गर्न सक्छौं । यसले रोजगारी पनि सिर्जना हुन्छ ।’
 

Advertisement

Advertisement