महासंघको टोलीले उद्योगमन्त्रीलाई भेट्यो, तरलता समस्याबारे ध्यानाकर्षण गरायौंः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ । 

ठूला दलका नेता र सरोकारवाला मन्त्रीहरुलाई भेट्दै आएको महासंघको टोलीले आज बडूसँग भेट गरेको हो । मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै महासंघले तरलता संकटका कारण उद्योग व्यवसाय गर्न आफूहरुलाई कठिनाई भएको बताएका थिए । 

Advertisement

यसअघि महासंघको टोलीले अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर यही कुरा राखेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्वन्धी नीति ल्याएसँगै रुष्ट रहेका ठूला व्यवसायीले उनलाई दबाब दिन राजनीतिक नेतृत्वसँग भेटघाटलाई तीब्रता दिएका हुन् । 

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताए । 

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालेसमेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।
 

Advertisement

Advertisement