नेपाल वायुसेवा निगमको नेतृत्व अयोग्य हुँदा जनताले सेवा लिने क्रममा दुःख पाएः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । 

बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा उनले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको गुनासो गरे । श्रेष्ठले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए । 

Advertisement

उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताउँदै निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए । 

मन्त्री श्रेष्ठले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताए । उनले सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलव खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताए । 

Advertisement

श्रेष्ठले निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद रहेको भन्दै कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक भएको बताए । उनले निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतको भन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेस गर्नु हास्यास्पद भएको बताए । 

निगम आफैले प्रतिष्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैँ राज्यले लगानी गरेर निगम चलाउन नसक्ने श्रेष्ठको भनाई छ । उनले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको बताए । श्रेष्ठले अन्तर्राष्ट्रिय निकायहरुले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको बताए । 

मन्त्री श्रेष्ठले नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए । उनले हवाई सुरक्षा नीतिको विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताए । श्रेष्ठले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षाको लागि कामका आधारमा चाँडै कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे ।