पोखरा विमानस्थल उडान गर्न योग्य, ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन क्यानलाई प्राप्त

Advertisement

काठमाडौं । औपचारिकरुपमा सञ्चालन गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान  (क्यालिब्रेसन फ्लाइट)को प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई प्राप्त भएको छ । 

थाइल्यान्डको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडले एरो थाईमार्फत गरेको उक्त उडानको प्रतिवेदन उसले क्यानलाई बुझाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्राप्त भएको बताउँदै यसको क्यानले प्रमाणिकरण गरेपछि एआइटीमा दुई–चार दिनमा प्रकाशित हुने बताए । 

Advertisement

एआईटीमा प्रकाशित भएपछि यसको जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आउकाउ)सहित विश्वभर सबै मुलुकमा जाने उनले बताए । सोही सूचनालाई आधार मानेर विदेशी एयरलाइन्सहरु पोखरामा आउने निरौलाले जानकारी दिए । एरो थाईले गरेको परीक्षण उडानको प्रतिवेदन बिहीबार साँझ क्यानलाई प्राप्त भएको र यसले सो विमानस्थल चलाउन योग्य रहेको प्रतिवेदन दिएको निरौलाले बताए ।  

पोखरा विमानस्थल आउँदो पुस १७ (जनवरी १)बाट औपचारिक सञ्चालन गर्ने क्यानको योजना छ । एरोनोटिकल रेडियो अफ थाइल्यान्डको प्रतिवेदन सकारात्मक आएकाले आफूहरुलाई पोखरामा अन्तर्राष्ट्रिय वायुसेवालाई उडान भर्न बोलाउन सहज भएको क्यानको भनाई छ । 

प्रवक्ता निरौलाले भने, ‘एक साताभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलक्षित सूचना जारी गर्ने योजनामा हामी छौं । क्यालिब्रेसन फ्लाइटको प्रतिवेदनले विमानस्थल र जडान उपकरण ठिक रहेको जनाएको छ । अब अन्तर्राष्ट्रिय बजारमा पोखरा विमानस्थल संचालनमा आएको जानकारी गराउने छौं ।’ 

विभिन्न विदेशी वायुसेवा कम्पनीले नयाँ विमानस्थलबाट उडान सञ्चालनका लागि चासो देखाउँदै आएको पनि उनले बताए । पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेपछि सो क्षेत्रका व्यवसायीदेखि आम मानिस खुशी देखिन्छन् । सँगै, अपेक्षाकृत विदेशी हवाई सेवा कम्पनी आउने हो कि होइन् ? भन्ने कुराले पनि उनीहरुमा चिन्ता छाएको छ । 

Advertisement

Advertisement