व्यायाम मन्दिरद्वारा खेलकुद पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान

Advertisement

काठमाडौं । शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल व्यायाम मन्दिरले आफ्नो वार्षिक साधारण सभामा विभिन्न सञ्चार तथा अन्य माध्ययमबाट संस्थाको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै खेल पत्रकार, खेलाडी तथा विभिन्न व्यक्तिलाई शनिबार सम्मान गरेको छ ।

ज्याठास्थित यस मन्दिरले आफ्नो २२ औं बार्षिक साधारण सभामा सञ्चार माध्यममा खेल पत्रकारितामार्फत मन्दिरद्वारा आयोजना गरिने शारीरिक सुगठनको सबैभन्दा सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको ‘धर्मश्री’ प्रतियोगिता एवं अन्य कार्यक्रम तथा खेलकुदको विकास र विस्तारमा समाचार सम्प्रेषणमार्फत प्रचार प्रसारमा सहयोग पुर्याएवापत पाँच  खेलकुद पत्रकारलाई सम्मान गरेको हो । 

Advertisement

सम्मानित हुने पत्रकारहरुमा समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका विष्णु थापा, अनलाईन खवरका कुशल तिमल्सिना र नेपाल टेलिभिजनका बासुदेव अवाल छन् । उनीहरुले नगद १० हजारसहित सम्मानपत्र प्राप्त गरे । मन्दिरले विगत ४ बर्षदेखि खेलकुद पत्रकारलाई सम्मान गर्दै आएको छ ।

यस्तै मन्दिरले आफूले आयोजना गरेको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको छ । धर्मश्रीमा ५५ केजी तौलमा प्रथम र मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन प्रतियोगितामा फिटनेश फिजिक्समा कास्य पदक प्राप्त गर्न सफल खेलाडी राजु राई र धर्मश्री प्रतियोगिता तथा पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने डेभिड बलामीलाई नगद २० हजारसहित सम्मान गरेको हो । 

यसैगरी उक्त धर्मश्री प्रतियोगिताअन्तरगतको प्रथम मेन्स फिजिक्स विजेता अस्वत स्थापितलाई नगद आठ हजार, ६५ केजीमा दोश्रो स्थान हासिल गर्ने आशिष देवाजु र ८० केजी माथिको तौलमा दोश्रो स्थान हासिल गर्ने ग्रिस महर्जनलाई नगद सात हजार, ७५ केजी तौलमा तेश्रो स्थान हासिल गर्ने आदित्य ठाकुरलाई नगद पाँच हजारसहित सम्मान गर्यो । 

कास्की स्ट्रेन्थ लिफ्टिङ संघको आयोजनामा भएको फस्र्ट गण्डकी नेशनवाइड स्ट्रेन्थ लिफ्टिङ आइविपी २०२२ मा ८५ केजी माथिको तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ र इनक्लाइन्ड बेन्च प्रेस गरि दुई विधमा नेपालकै वलिष्ठ स्ट्रेन्थ लिफ्टर बनेर प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी सन्दिप केसीलाई आठ हजार नगद र पाकिस्तानस्थित विश्वकै दोश्रो र नवौं हिमाल आरोहण गरि नेपाल ब्यायाम मन्दिरको लोगो अंकित झण्डा र नेपालको झण्डा सहितको ब्यानर फहराएकोमा निङ्गमा तामाङलाई सम्मान गर्यो ।

व्यायाम मन्दिरले लामो समयदेखि विभिन्न ओहोदामा रहेर संस्थाको विकास र विस्तारमा सहयोग पुर्याउँदै आएका संचालक समितिका सदस्य एवं पूर्व कोषाध्यक्ष तीर्थ महर्जन तथा साधारण सदस्य मचाम महर्जनलाई लाईफटाईम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ । उनीहरुलाई नगद ५५ हजार ५५५ र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्यो । 

समाजसेवी तथा व्यायाम मन्दिरका मानार्थ सदस्य विद्यासागर तुलाधरको तर्फबाट संस्थाको विकास र विस्तारमा सहयोग पुर्याउने साधारण सदस्यद्वय विजय श्रेष्ठ र कृष्ण सिंह शाहीलाई नगद २० हजारसहित सम्मानपत्रले सम्मान गरियो । मन्दिरको विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएकाहरुको सन्ततीहरुलाई सम्मान गर्ने क्रममा आजीवन सदस्य बर्षबहादुर श्रेष्ठका छोरा साधारण सदस्य राजनकुमार श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारीकी छोरी परिशा राजभण्डारी, संचालक समितिका सदस्य तीर्थ महर्जनका छोरा सुविन महर्जन र पूर्वअध्यक्ष उदयबहादुर श्रेष्ठकी छोरी लुना श्रेष्ठलाई नगद १० हजारसहित सन्तती आवार्ड सम्मानपत्रले सम्मान गरियो । 

सम्मानित हुने अन्यमा १६औं धर्मश्रीका टोली व्यवस्थापक सुन्दर पोडे, संजीव श्रेष्ठ र अर्जुन बर्णवाल, सहयोगीहरु अशोक शाही, रविन्द्र श्रेष्ठ, केदार स्थापित, प्रदीप बाँनिया तथा विजय बज्राचार्य रहेका छन् । सम्मानितहरुलाई काठमाडौं महानगरपालिका पूर्वउपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, व्यायाम मन्दिर संचालक समितिका संयोजक प्रथम मि. नेपाल शिवलाल श्रेष्ठ, अध्यक्ष नारायण प्रधान लगायतले सम्मान गरेका थिए ।

Advertisement

Advertisement