तनहुँमा २८ करोडको सुन्तला उत्पादन, बागलुङको एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

Advertisement

दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए । 

Advertisement

अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । 

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला
यसैबीच, बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । 

सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी  छ । रासस

Advertisement

Advertisement