एकै पटक कहाँबाट ल्यायो बीमा संस्थानले यति धेरै बीमाशुल्क ?

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले एकै पटक ठूलो रकमको बीमाशुल्क आर्जन गरेपछि बीमा क्षेत्रमा तरंग देखिएको छ । गएको मंसिर महिनामा संस्थानले चार अर्ब आठ करोड रुपियाँको बीमाशुल्क आर्जन गरेको विवरण नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट देखिएको हो । 

समग्र आर्थिक क्षेत्रसँगै बीमा क्षेत्रमा पनि मन्दी छाएको बेला संस्थानले एक महिनामा यति धेरै रकम कहाँबाट ल्यायो ? चासोको विषय बनेको हो । देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सलगायतले आर्जन गरेको बीमाशुल्कमा समेत गिरावट आएको बेला संस्थान एक्लैले आर्जन गरेको बीमाशुल्कले समग्र जीवन बीमा व्यवसायमा दुई अर्ब रुपियाँको वृद्धि हुन पुगेको छ । 

Advertisement

गत कातिक महिनामा बीमा संस्थानले जम्मा ३६ करोड ४५ लाख रुपियाँ बराबरको व्यवसाय आर्जन गरेकोमा मंसिरमा गुणात्मक वृद्धि गर्दै पहिलो नम्बरमा आएपछि प्रतिस्पर्धीहरुसमेत झस्किएका थिए । 

कसरी आयो यति धेरै बीमाशुल्क ?
बीमा संस्थानले एकै महिनामा चार अर्बभन्दा बढी बीमाशुल्क आर्जन हुनुमा नागरिक लगानी कोषबाट मात्रै थप भएको तीन अर्ब व्यवसाय हो । कोषबाट पाएको यो व्यवसाय संस्थानले गएको साउन महिनामै देखाउनु पर्ने थियो । तर ढिलो गरी मंसिरमा किन देखाइयो ? यो भने गम्भीर प्रश्न बनेको छ । 

संस्थानका प्रशासनक कवि पाठकले भने सामान्य कमजोरीको रुपमा बताए । उनले अन्डराईटिङ ढिलो हुँदा असारमा आफूहरुले जोड्न बाँकी रहेको बीमाशुल्क मंसिरमा जोड्नुपर्ने बाध्यता आएको बताए । पाठकले भने, ‘हामीले नागरिक लगानी कोषबाट व्यवसाय पाएको हो । कोषबाट म संस्थान प्रवेश गरेदेखि नै व्यवसाय आइरहेको छ । तर यस पटक मंसिरमा हाम्रो व्यवसाय बढ्नुको पछाडी कारण अर्कै छ । हामीले गएको साउनमा जोड्नुपर्ने बीमाशुल्क अन्डराईटिङ हुन नसक्दा सिस्टममा बस्न सकेको थिएन । त्यो कमजोरीलाई सुधार गर्न हामीले अहिले सबै तथ्यांक अध्यावघिक गर्ने मौका पायौं, जसले गर्दा हाम्रो व्यवसाय एकएक बढ्न पुग्यो ।’

उनले कोषमा आवद्ध सरकारी कर्मचारीहरुबाट संकलन भएको बीमाशुल्क आफूहरुले जोडन ढिलाई भएको स्वीकार गरे । यस विषयलाइ बीमा प्राधिकरणले भने सकारात्मक व्याख्या गरेको छ । 

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘सरकारी स्वामित्वमा रहेको संस्थानले चाह्यो भने र लागि पर्यो भने गर्नसक्ने ठाउँ धेरै छ । बीमा संस्थानको यो विषय पनि त्यही हो । बीमा संस्थानको व्यवसाय वृद्धि संस्थानको लागि मात्रै नभएर समग्र बीमा क्षेत्रकै लागि राम्रो कुरा हो । यस पटक नागरिक लगानी कोषबाट उसले राम्रो व्यवसाय पाएको छ । सरकारी क्षेत्रको बीमा सरकारी संस्थामार्फत नै गराउने परम्पराका कारण पनि बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई फाइदा हुँदै आएको छ । 

Advertisement

Advertisement