लक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौताः बन्यो संयुक्त मर्जर समिति

Advertisement

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच आज गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । 

एक समारोहका बीच लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । 

संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ । 

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुने र मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने जनाएका छन् । 

लक्ष्मी बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार एक सय रुपियाँ छ भने सनराइज बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ९ सय रुपियाँ छ । दुई बैंक मर्ज हुँदा कूल चुक्ता पूँजी २१ अर्ब ६७ करोड भन्दा बढी हुनेछ । 

गत मङ्सीर मसान्तको वित्तीय विवरण अनुसार सन्राइज बैंकको कूल निक्षेप रु. १३२.३१ अर्ब, कर्जा रु. १२२.५३ अर्ब रहेको र बैंकको शाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ्ग सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ्ग सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

दुबै संस्था एक आपसमा गाभिए पश्चात बैंकको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको संख्या २७, शाखा रहित बैंकिङ्ग सेवाको संख्या १६१ र एटिएमको संख्या ३३७ पुग्ने छ भने बैंकको कूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्नेछ ।  

Advertisement

Advertisement