पर्यटन व्यवसायमा महिला सहभागिता नगन्य किन ?

Advertisement

सोनाम याङ्जी
पर्यटन क्षेत्र विश्वको सबैभन्दा छिटो बढिरहेको र प्रतिस्पर्धात्मक उद्योग हो । नेपालमा पनि अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यटन उद्योग स्थापित भइसकेको छ । ईतिहास हेर्ने हो भने विश्वमा पर्यटन व्यवसायको सुरुवात सन् १८४१ मा भएको देखिन्छ । तत्कालिन समयमा बेलायती नागरिक थोमास कुकदृले आफ्नै देशका मानिसहरुलाई रकम दिएर देशभित्र व्यवस्थित र संगठितरुपमा घुमाउन सुरु गरेपश्चात पर्यटनको विकास भएको मानिन्छ । 

विश्वमा ८२ बर्ष पहिले नै पर्यटन व्यवसायकौ विकास ढिलो गरी भएको देखिन्छ । राणा शासनकालमा कूटनैतिक उद्देश्यबाहेक विदेशीहरुलाई नेपाल भ्रमणमा रोक लगाइएको थियो । वि.सं. २००७ मा भएको राजनैतिक परिवर्तनपछि पनि पर्यटन क्षेत्रमा आशा गरेअनुरुपको सफलता भने नेपालले हात पार्न सकेन । पर्यटन क्षेत्रमा तत्कालीन राजा महेन्द्रको २०१७ सालको राजनीतिक कदमपछि भने केही विदेशीहरुले नेपालमा पर्यटन व्यवसाय सुरु गरे । पञ्चायक कालमा खासै फस्टाउन नसकेको पर्यटन क्षेत्र २०४६ मा बहुदल आएपछि निकै सुधार भएर जाने आशा गरिएको थियो । तर राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनका कारण पर्यटन क्षेत्रमा अपेक्षाकृत विकास हुन् सकेन् । नेपालको पर्यटन क्षेत्रको सकारात्मक पक्षको रुपमा तत्कालिन श्री ५ को सरकारले गठन गरेको पर्यटन बोर्ड हो । 

Advertisement

हिंसात्मक आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि नेपालमा शान्ति प्रक्रिया अघि बढ्यो । त्यससँगै नेपालमा विदेशी पर्यटन आउने क्रम पनि बढ्न थाल्यो जसले गर्दा नेपालको पर्यटन व्यवसायले पनि जीवन्तता पायो । पर्यटन व्ययवसाय फस्टाउँदै गएसँगै यस क्षेत्रमा लाग्ने व्यवसायीको संख्या पनि बढ्दै गए । विभिन्न देशबाट नेपाल घुम्न आउने, हिमाल तथा पहाडहरु हेर्न आउने, आरोहण गर्ने, साहसिक पर्यटनको मज्जा लिने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सोही कारण पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी भएको छ । अहिले ठूला होटल र रिसोर्टदेखि अरु क्षेत्रमा ठूलो लगानी पनि भएको छ । यसरी पर्यटन क्षेत्र प्रतिस्पर्धात्मक उद्योगकौ रुपमा सञ्चालनमा आएपनि पर्यटन व्यवसायमा महिला सहभागिता भने अत्यन्तै न्यून् छ । 
 
जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलालाईलाई जननी, नारी शक्ति भनेर प्रसंशा गरे पनि राज्यका सबै क्षेत्रमा उनीहरुको उचित प्रतिनिधित्व भने अझै हुन सकेको छैन् । पर्यटन क्षेत्रमा भने महिला सहभागिता अत्यन्त थोरै किन भयो ? समीक्षा गर्नुपर्ने विषय बनेको छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण एउटा क्षेत्रको रुपमा रहेको र प्रतिस्पर्धात्मक ढंगले विकास भइरहेको पर्यटन व्यवसायलाई अझ गति दिन महिला सहभागिता बढाउनु जरुरी थियो । तर अरु क्षेत्रमा जस्तो अपेक्षाअनुसार पर्यटन क्षेत्रमा महिला सहभागिता बढ्न सकेको छैन् । बढी जसो घरायसी काममा सीमित हुनुपर्ने बाध्यतामा रहेका महिलाहरु पर्यटन क्षेत्रमा हेर्ने हो भने केवल प्रतिनिधि पात्रको रुपमा सीमित रहेको पाईन्छ । 

नेपालको पर्यटन इतिहासमा हेर्ने हो भने राष्ट्रिय विभूति पासाङ ल्हमु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि महिलाहरुमा हिमाल आरोहण गर्न केही साहस बढेको देखिन्छ । त्यसपछि हिमाल आरोहण गर्ने महिलाहरु पनि बढेका छन् । पर्यटन क्षेत्रका विभिन्न विधामा छिटफुट रुपमा महिला देखिए पनि उनीहरुको संख्या निकै न्यून भएकाले कसरी उनीहरुको सहभागिता बढाउने ? भन्ने चिन्ताको विषय बनेको छ । त्यसका लागि उनीहरुलाई उद्यमशीलता र सीपमूलक तालिमको निकै खाँचो देखिन्छ । यसका लागि राज्यले खासै योजना बनाउने र लगानी गर्ने काम गरेको पाउन सकिन्न । पर्यटन क्षेत्रसँग सम्वन्धित केही सरकारी र गैरसरकारी संस्थाले महिलालक्षित केही काम गर्न खोजेको जस्तो देखिए पनि त्यसको प्रभावकारिता खासै देखिन्न । 

नेपालमा अवसर र संभावना नदेख्दा नेपाली महिलाहरु विदेशिनुपर्ने र विदेशमा दुःख कष्टसमेत भोग्नुपरेका समाचारहरु आउने गरेका छन् । उनीहरुको सीप र दक्षता वृद्धि गरी स्वदेशमा अवसर प्रदान गर्न सकिए मुलुकले पनि धेरै लाभ लिनसक्ने अवस्था छ । महिला सहभागी हरेक व्यवसाय र कामले बढी सफलता पाउने गरेका हामीले उदाहरण पनि पाउने गरेका छौं । यसले नेपालको पर्यटन व्यवसायलाई पनि सबल बनाउनसक्छ । 

विश्व पर्यटन संगठनका अनुसार ७०को दशकको मध्यदेखि पर्यटन व्यवसायमा महिलाको भूमिका बढ्दै गएको छ । तर नेपालमा भने त्यो स्थिति छैन् । पर्यटन क्षेत्रमा लाग्दा कतै महिलाहरु बिग्रिन्छन् कि ? भन्ने सोचले पनि हाम्रो समाजले उनीहरुलाई यस क्षेत्रमा लाग्न प्रोत्साहित नगरेको अनुभूति हुन्छ । अहिलेको खुल्ला र प्रतिस्पर्धी समयमा र महिला सशक्तिकरणको आवाज निकै उठ्ने गरेको सन्दर्भमा उनीहरुलाई पर्यटन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नु अत्यावश्यक भइसकेको छ । यस कुरामा सबैको ध्यान जानु जरुरी छ । 

Advertisement

Advertisement