सवारी साधनहरुलाई विलाशिताको बस्तुबाट हटाउन अर्थमन्त्रीसँग नाडाको माग

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ । 

सो छलफलको क्रममा पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउँदो बजेट सम्बन्धी  छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए । नाडा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दै सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गर्दा भएको सन्दर्भमा उर्थमन्त्री पौडेलबाट सो प्रतिक्रिया आएको हो । 

Advertisement

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको, सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै सरकारको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए । 

त्यसैगरी सो भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै छ, अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिव ३००० सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ भन्दै यस्तो जटिल स्थितिको समुचित समाधानका लागि आग्रह गरे । 

Advertisement

छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनु पर्ने  र चालु पूँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गरे । 

त्यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न इण्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने,  नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे । 

काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे । 

यता अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भईरहेको जानकारी दिए । भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।