सरकारी कर्मचारीको तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिति सहज होईन

‘बैंकिङको खुद मुनाफा हेरेर कमेन्ट गर्छौं हामी, तर वितरणयोग्य नाफा धेरैको नकारात्मक छ’

Advertisement

- मनोज ज्ञवाली ​।​ 
अभाबमा कलह हुन्छ । अभावमा मानसिक स्थिति कमजोर र नकारात्मक हुन्छ ।  नकारात्मक कुरा बढि बिक्छ । एक अर्कालाई दोषारोपण हुन्छ । तर, यसले समाधान कहिल्यै दिँदैन् । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजनासँगै हरेक संकटबाट बाहिर निस्किन सजिलो हुन्छ । विश्व आर्थिक अबस्थासँगसँगै नेपालमा पनि आर्थिक अभावको स्थिति अझै छ । गाह्रो सबैलाई छ । अनि पर्याप्त प्रश्नहरु उब्जिन्छ नै ।

सरकार पूरै सङ्कलित आय रकमबाट चालु खर्चसम्म  धान्न नसक्ने स्थितिमा छ । तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिति सहज होईन । प्रजातन्त्र, लोकतन्त्र र संघीयताको यात्रासँगसँगै पुँजीगत खर्च र चालु खर्चको अनुपात ५५ः४५ बाट घट्दै गएर ८०ः२० भन्दा न्युन भइसकेको छ । कसरी सम्हाल्ने सरकारलाई गाह्रो छैन र ?

Advertisement

उधमी व्यवसायीहरूको स्थिर खर्च बढेको छ । तर बजारमा माग २० प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटेको छ । यसले गर्दा उकुसमुकुसको वातावरण छ । पुरानालाई त टिक्न गाह्रो भइरहँदा नयाँ उधमी आउन कसरी ? देश आर्थिकरुपमा समृद्ध हुन्छ कसरी ? उधमी र उधमशीलतालाई टेवा दिन सकेनौ भने हामी बच्दछौ र ? बाँच्दछौ कसरी ?

बैकिङको खुद मुनाफा त हेरेर कमेन्ट गर्छौं हामी । तर, वितरणयोग्य नाफा धेरैको नकारात्मक वा न्युन छ । खराब कर्जा अप्रत्याशित रुपले बढेको छ। स्थिति सुधार नभएमा निक्षेपकर्ताको हितसम्म सुरक्षित हुन गाह्रो हुने स्थिति आउन सक्दछ । बैकिङमा पैसा सबै नागरिकको छ हैन र ? बैकिङ विश्वासमा चल्छ र विश्वास गर्न यो डुब्दैन भन्ने स्थिति हुनुपर्छ हैन र ? बैकिङमा पैसा नहुदा कति व्यवसायीले ३६ प्रतिशतदेखि ४८ प्रतिशतसम्म ब्याजमा पैसा लिई गर्जो टार्नु भयो सोच्नुस त ?

केहि सुधारका निर्दैशन र नियमनले अर्थतन्त्रको अवस्थालाई स्थिर वा केहि सुधारतर्फ लगेको थाहा हुँदाहुँदै पनि नियामकहरुले तालि खानुपर्ने ठाँउमा समेत गाली खानुपरिरहेको छ । सही नियमनलाई साथ नदिने हो भने भोलीको स्थिति अझै बिग्रिनसक्छ । नियमन कसलाई ‘आहा’ अनि ‘गज्जब’ लाग्छ र ? औषधि तितो नै हुन्छ । डाक्टरले दिएको औषधिले मुखै बिगार्यो, डाक्टरले यो खान रोक्यो, उ खान रोक्यो भनेर गाली गर्ने कि रोग ठिक हुँदैछः स्वस्थ हुँदैछु, आयु बढ्दैछ भनेर धन्यबाद दिने ? 

युवाहरूमा काम गरौं भन्ने हुटहुटी छ । जोश छ । पढाइ छ तर सोचे झै अवसर नपाउने वातावरणले उनीहरुलाई अत्यन्तै नकारात्मक बनाइरहेको छ । तथ्य अनी तथ्याङ्कसहित वास्तविकता आफूले बुझेर अरूलाई समेत सम्झाउनुपर्ने यो जमात सामाजिक सञ्जाल, युट्युव र टिकटिकमा प्रचारित नकारात्मक सन्देशहरूका बहाक बनिरहेका छन् । यस्तै हुने हो भने उनीहरुसँगै देशको भविष्य कहाँ पुग्दछ ?

नागरिकहरुको आम्दानी घटेको छ । अवसरहरु घटेका छन् । खर्च क्षमता घटेको छ । तर महँगी बढेको छ। उकुसमुकुस हर घरमा छ । हैन र ?

यतिबेला संयम, धैर्य, एक अर्कालाई ढाडस, साथ, सहयोग अनी एक नागरिकको रुपमा मेरो सकारात्मक भूमिका के हुनुपर्छ ? भनेर हरेक पेशामा आबद्ध मान्छेहरुले सोच्नुपर्ने बेला पक्कै हो । नियामकले गाली खाँदै लिएका केहि निर्णयहरुले यो बर्ष केही आर्थिक सुचकांकमा सुधार आएका छन् । अगाडिका दिनहरू सुन्दर र समृद्ध हुन सक्दछन् । तर, त्यहाँसम्म पुग्न एक अर्कालाई साथ दिउँ ।  नकारात्मकभन्दा सकारात्मक सन्देश बढि चर्चामा ल्याउँ । बाढि र भेलमा एक अर्कालाई समातेर बसियो भने बाढि कम भइहाल्छ । सबै सुरक्षित होईन्छ । एक अर्कालाई छिर्की हान्न थाले कोही बचिंदैन् । 

यो समय सामाजिक, धार्मिक र पेशागत द्वेष फैलाउने बेला होईन् । खरको छानो भएको बस्तीमा छौं हामी । छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर पनि बच्दैन् । छिमेकीको घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउँदा छिमेकीको नोक्सानी बच्दछ । बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्कसहित गलत भनौ । तर, द्वेष फैलाउँदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौं । प्रोत्साहन गर्ने होईन ।

समस्या जताततै छन् । आशाका किरणहरु पनि छन् । बेइमानी र बेईमानहरुलाई खबरदारी गरौं । तर, सामाजिक, धार्मिक र पेशागत मर्यादा अनि सदभाव कायम राखौं । अहिले यो जरुरी छ । धेरै आर्थिक सुचकांकमा सुधार देखिएका छन् । आशाका किरणहरु देखिएका छन् । राम्रो काम गर्दा गर्दै अप्ठ्यारोमा परेकाहरुलाई साथ दिउँ । सहानुभूति राखौं । प्रोत्साहन गरौं । बेईमान र बदमासहरुलाई खबरदारी गरौं । तर, नकारात्मक सन्देश र द्वेष फैलाउँदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौं । प्रोत्साहन गर्ने होईन् ।

समस्या छन् । तर, पार पाउछौं भन्ने आत्मविश्वास राखौ। ‘होस्टेमा हैसे’ गरौं ।  

नविल बैंकका डेपुटी सीईओ ज्ञवालीको सामाजिक सञ्जालमा व्यक्त विचार साभार

Advertisement

Advertisement