आत्मदाह भए पनि प्रेम आचार्यको परिवारलाई ५० लाख बीमा दावी भुक्तानी गर्न सन नेपाल तयार

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले संसद भवन अगाडि गत मंगलबार आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख रुपियाँ दावी भुक्तानी दिने भएको छ । 

कम्पनीका सीईओ राजकुमार अर्यालले बीमा सम्झौता अनुसार बीमितले पाउने पैसा आफूहरुले कहिल्यै पनि नरोक्ने गरेको बताउँदै स्वर्गीय आचार्यको परिवारले पनि ५० लाख रुपियाँ दावी भुक्तानी पाउने बताए । बीमितलाई दावी भुक्तानी दिनु आफूहरुको दायित्व भएको उनले बताए । 

Advertisement

अर्यालले कर्पोरेट नेपालसँग भने, ‘कानुनी रुपमा बीमा रकम पाउनयोग्य ठहरिएको अवस्थामा बीमा कम्पनीहरुले पैसा दिनैपर्छ । अहिलेको यो आत्मदायको सन्दर्भमा पनि हामीले दाबी भुक्तानी दिने निर्णय गरेका छौं । बीमा कम्पनीहरुले आत्महत्याको अवस्थामा पैसा नदिने भन्ने शर्त बीमितले बीमा गरेको दुई वर्ष नपुगी आत्महत्या गरेको अवस्थामा मात्रै लागु हुन्छ  । यस घटनामा त्यो शर्त लागू हुन्न ।’

देशमै केही उद्यम गरौं भन्ने क्रममा विकृति राज्य संयन्त्रबाट आफूले सास्ती भोग्नुपरेको र समाज तथा परिवारबाट पनि आफूले हौसला र साथ नपाएको भन्दै आचार्यले आफ्नो ‘सुसाइड नोट’मा व्यवसायिक क्षेत्रमा विशेषगरी ठूलो व्यापारिक घरानाबाट साना व्यवसायीहरु बढी लुटिने गरेको लामो अनुभव सार्वजनिक गरेका थिए । उक्त नोटमा उनले आफूले बीमा गरेको पनि उल्लेख गरेबाट बीमा दावी भुक्तानी पाउने हो कि होइन् ? भन्ने चासो र चिन्ता बढेको बेला सम्वन्धित कम्पनीले दावी भुक्तानी दिने स्पष्ट पारेको हो । 

आत्मदाहको घटनामा बीमा दावी पाउने नपाउने कुराले अन्योलता बढाए पनि बीमा कम्पनीहरुले भने ‘एनि कज अफ डेथ’ (कुनै कारणबाट मुत्यु भएको अवस्था)मा बीमा दावी भुक्तानी पाउने बताउँछन् । केही निश्चित अवस्थामाबाहेक अन्य मृत्युमा बीमा कम्पनीले पैसा नरोक्ने उनीहरुको भनाई छ । 

स्वर्गीय आचार्यको परिवारले एक करोड रुपियाँ बीमा दावी भुक्तानी पाउने भन्ने बाहिर हल्ला चले पनि त्यो सत्य नभएको सीईओ अर्यालले बताए । उनका अनुसार आचार्यले जम्मा ५० लाख रुपियाँ बराबरको बीमा गराएका हुन् । उनले दुई वर्षमा तीन लाख ४६ हजार आठ सय रुपियाँ बराबरको बीमाशुल्कवापत दुई किस्ता बुझाएका थिए । 

बीमांक रकम हात पार्ने आपराधिक उद्देश्यले नै कुनै बीमितको हत्या भएमा त्यस्तो अवस्थामा भने बीमा कम्पनीहरुले दाबी भुक्तानी नगर्ने बताउँदै नेपाल बीमा प्राधिकरणले बीमाका कारण अपराधिक क्रियाकलाप नहोस र कसैले बीमा दावी पाउनका लागि कसैको हत्या गर्ने परिस्थिति नहोस भनेर यस्तो नियम बनाउनु परेको बताएको छ । 

यसअघि रौतहटमा भएको एक बालकको हत्या, हटौंडामा भएको सुस्मिता हत्याकाण्ड, साजन विक हत्याकाण्ड लगायतका घटनामा बीमाको रकम जोडिएको छ । 

Advertisement

Advertisement