उद्योगमा लगानीको प्रतिवद्धतामा ५० अर्बले कमी, विदेशी लगानीमा पनि भारी गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा उद्योगमा लगानीको प्रतिवद्धतामा ५१ अर्ब रुपियाँले कमी आएको छ । गएको आर्थिक बर्ष २०७८–७९ को पुस मसान्तसम्म एक खर्ब ९० अर्ब रुपियाँको लगानीको प्रतिवद्धता आएकोमा चालु आर्थिक बर्षको पुससम्म एक खर्ब ३९ अर्ब रुपियाँको मात्रै प्रतिवद्धता आएको छ  । 

उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार समीक्षा अवधिमा उद्योग दर्ताको संख्या पनि घटेको छ । गत बर्ष पुससम्म १५५ वटा साना ठूला उद्योग दर्ता भएकोमा यस बर्ष पुससम्म १४५ वटा मात्रै उद्योग दर्ता भएको छ । 

Advertisement

गत बर्ष पुससम्म ठूला उद्योग ४६ वटा, मझौला उद्योग ५७ वटा र साना उद्योग ५२ वटा दर्ता भएकोमा यस बर्ष सोही अवधिसम्म ठूला उद्योग ३९ वटा, मझौला उद्योग ४१ वटा र साना उद्योग ६५ वटा दर्ता भएको विभागको विवरणबाट देखिन्छ । 

साथै, समीक्षा अवधिमा उद्योगमा विदेशी लगानीको प्रतिवद्धतामा भारी गिरावट आएको देखिएको छ । गत बर्ष पुससम्म ३० अर्ब ५६ करोड रुपियाँको विदेशी लगानीको प्रतिवद्धता आएकोमा यस बर्ष पुससम्म १७ अर्ब ३० करोड रुपियाँको मात्रै प्रतिवद्धता आएको छ । 

विभागकी निर्देशक रमिला भन्डारीले नेपालमा मात्र नभएर दक्षिण एशियाली देश श्रीलंका, पाकिस्तानमा पनि उद्योग दर्ता घट्दो रहेको र औद्योगिक क्षेत्र फस्टाउन नसकेको जानकारी दिइन् । नेपालमा कच्चा पदार्थको अभाव र भन्सार दरमा स्थिरता नहुँदा लगानीकर्ताहरु उद्योग खोल्नेभन्दा ट्रेडिङ विजनेशमा बढी आकर्षित हुने गरेको बताइन् । 

Advertisement

Advertisement