राष्ट्र बैंकका प्रथम गभर्नर राणाको ९५ वर्षको उमेरमा निधन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए । 

Advertisement

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए । 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् । 

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् ।  

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षतिः अर्थमन्त्री
यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । 

उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । 

“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु”, उनले भनेका छन् । 

अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

Advertisement

Advertisement