ठूला दलहरुले स्वतन्त्र पार्टीलाई फुटाल्ने संकेत, लामिछानेको विशेष पत्रकार सम्मेलन गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजित हुने संकेत देखिएको छ । यसअघि नै सरकार छोड्ने संकेत गरेको सो पार्टीले पार्टीभित्र दुई धार सिर्जना भएपछि केही ढिलाई गरेको थियो । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकताको अनुसुची नभरेको सामान्य विषयमा लामिछानेको साँसद पद नै खारेज गरेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि छ महिनासम्म पनि संसद सदस्य नभएको व्यक्तिले मन्त्री हुन पाउने सुविधाअनुसार सरकारमा जाने र आफ्ना योजना कार्यान्वयन गर्ने योजना बनाएका लामिछानेलाई रोक्न नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको ठूलो समूह सक्रिय भएको थियो । 

Advertisement

ठूला दलले आफ्नो पार्टीभित्र चलखेल गरेर पार्टी फुटाउने खेलपछि उनले यसअघि नै सरकार छोड्ने निर्णय दुई दिन रोकेका थिए । आज भने लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् । सो पार्टीको बैठक अहिले चलिरहेको छ । आफ्नो भागमा परेको गृह मन्त्रालय नपाए कुनै पनि हालतमा सरकारमा बस्न नहुने लामिछानेको भनाई छ । 

अरु ठूला दलका नेताहरु उनलाई गृह मन्त्रालय दिँदा आफूहरुको नियन्त्रणमा नहुने र लामिछानेले जुनसुकै निर्णय पनि गर्नसक्ने, त्यसले गर्दा आफूहरुविरुद्ध तमेलीमा रहेका मुद्दाहरुसमेत सक्रिय हुनसक्ने कुराले त्रसित देखिन्छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्की र निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले ठूला दलका भ्रष्टाचार र हत्याका मुद्दाहरु अघि बढाउन खोजेपछि उनीहरुविरुद्ध महाभियोग दर्ता गरी ठूला नेताले आफूहरुलाई सुरक्षित गरेका थिए । 

गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी स्वतन्त्र पार्टीले दिएको छ । आजको बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेको बताएका छन् । बैठकको निर्णयबाहेक भनिएबाट आजै सो पार्टी विभाजित हुनसक्ने अडकल गरिएको हो । 

मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ । त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्।’

Advertisement

Advertisement