नेपाल लाइफको नाफामा २३७ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २३७ दशमलव २९ प्रतिशतले बढेको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा उल्लेख्य वृद्धि भएको देखिएको हो । गएको आर्थिक बर्षको पुससम्म १३ करोड चार लाख ९९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको नेपाल लाइफले यस बर्ष सोही अवधिमा ४४ करोड एक लाख ६० हजार रुपियाँ आर्जन गर्न सफल भएको छ ।

Advertisement

समीक्षा अवधिमा नेपाल लाइफले १८ अर्ब ६२ करोड ७४ हजार रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपियाँ खुद दाबी भुक्तानी गरेको छ । उक्त अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । 

पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपियाँ कायम भएको छ । सोही अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशतले बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपियाँ पुगेको छ । 

त्यस्तै, जीवन बीमा कोष पनि २१ प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपियाँ कायम भएको छ । महाविपत्ती कोष १६ प्रतिशतले बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपियाँ पुगेको छ भने कम्पनीले २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरेको छ । 

सोही साधारण सम्पन्न भएकै कारण पनि कम्पनीको जगेडा कोष ४८ करोड ४ लाख ४९ हजार रुपियाँ पुग्न सफल भएको हो । हाल नेपाल लाइफको प्रतिशेयर आम्दानी १०.७३ रुपियाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.०१ रुपियाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।

Advertisement

Advertisement