मर्जरपछि बीमा कम्पनीहरु पूरानै रणनीतिमा चल्नखोजे बोनस दर घट्छ, रणनीति बदलुनः सुवेदी

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मर्जरका कारण बोनस दर घट्ने चिन्ता नलिन अभिकर्ताहरुलाई सुझाव दिएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरपछि कम्पनीले बीमितहरुलाई दिने बोनस दरमा ठूलो हेरफेर नहुने बताए । अभिकर्ताहरुले बोनस दर हेरफेरले बीमा व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै चिन्ता प्रकट गर्दै आएका छन् । 

Advertisement

बोनस दर घटे पनि व्यवसायीक रणनीति बदलेमा जीवन बीमा कम्पनीहरुले सुरक्षित अवतरण गर्ने सुवेदीको तर्क छ । पछिल्लो समय ठूला तथा पूराना बीमा कम्पनीका सीईओहरुले नै बोनस दर खस्किँदा बीमा व्यवसाय प्रभावित हुने प्रतिक्रिया दिँदै आएका छन् । 

नेशनल लाइफका सीईओ सुरेश खत्रीले बीमाको बोनस दरलाई सहजरुपमा समायोजन गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । 

सुवेदीले कम्पनीहरु मर्जरमा जाने निर्णय भइसकेकाले अब बोनस निर्धारण हुनुपूर्व कम्पनीहरुले नवीन अभ्यास गर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लो समय अधिकांश बीमा कम्पनीहरुले सम्झौता गरेर धमाधम मर्जरमा गइरहेको अवस्था छ । मर्जरकै कारण पनि जीवन बीमा कम्पनीहरुको बोनस दर घट्ने हो कि ? भन्ने त्रास बढेको पाईन्छ । मर्जरले बोनस दरमा प्रभाव त अवश्य पार्छ नै । तर, बोनस दरमा नकारात्मक प्रभाव नै पर्छ भनेर डराउनुपर्ने स्थिति चाहिं छैन् ।’ 

बीमा कम्पनीहरुले तय गरेको रणनीतिको आधारमा नै बोनस दर तय हुने बताउँदै सुवेदीले ठूलो रकम लगानी गरेकाले पनि जीवन बीमा कम्पनीहरुलाई बोनस दर चिन्ताको विषय बनेको हुनसक्ने बताए ।अभिकर्ताहरुले पनि बोनस दरलाई नै आधार बनाएर बीमा बिक्री गर्ने भएकाले बोनस दर घट्दा यसले कम्पनीको व्यवसायमा गिरावट आउनसक्ने अडकल गरिएको छ । 


बीमा भनेको जोखिम र आवश्यकताको आधारमा निर्धारण हुनुपर्नेमा बोनस दरलाई बजारीकरणको आधार बजाउनु उपयुक्त नभएको सुवेदीको विश्लेषण छ । उनले भने, ‘व्यवसायको मुख हेरेर नाफामुखी बन्दा बोनस दर बढेकै मात्र राम्रो भन्ने चलन पनि आएको हुनसक्छ ।’ 

बोनस दर घटबढ् सामान्य प्रक्रिया भए पनि असामान्य ढंगले बोनस दर खस्किने कुराप्रति बीमा कम्पनीहरु बेलैमा सचेत हुनुपर्ने बताउँदै सुवेदीले अहिलेको मर्जरको लहरमा जीवन बीमा कम्पनीको बोनस सामान्य घटे पनि त्यसले अस्वाभाविक रुप लिने संभावना आफूहरुले नदेखेको बताए । 

उनले भने, ‘बोनस दरको मापदण्ड प्राधिकरणले तोक्ने हो । तर, कस्को बोनस कति कायम हुने ? भन्ने कुरा कम्पनीको सबलतामा भर पर्छ । कम्पनीहरुले प्रत्येक वर्ष आफ्नो व्यवसायीक रणनीति तय गर्छन् । सोही रणनीतिकै आधारमा कुनै पनि कम्पनीको आर्थिक सूचकहरु हेरफेर हुन्छन् । त्यसै गरी बोनस दर पनि बदलिन्छ । बीमा कम्पनीहरु मर्जरमा जाँदा चुक्ता पुँजी, कर्मचारी, व्यवस्थापन धेरै कुरामा परिवर्तन हुने भएकाले आफ्ना रणनीति परिवर्तन गरेमा बोनस दर घट्दैन् । तर, पूरानै रणनीतिमा चल्न खोजेमा घट्छ ।

अब बीमा कम्पनीहरुले आफ्नो प्रोडक्ट (उत्पादन)मा विविधिकरण गर्नुपर्ने र नयाँ व्यवसाय गर्नुपर्ने सुवेदीको सुझाव छ । उनले कम्पनीहरुले आफ्ना आन्तरिक खर्चहरु सकेसम्म कमी गर्नुपर्छ भन्दै खर्च कटौतीको रणनीति नलिए बोनस दर घट्ने पक्का रहेको बताए । 

सुवेदीले भने, ‘बीमा कम्पनीहरुले यस्ता कुरा सोचेर नै मर्जरमा जानु भएको होला । अर्बौं रुपियाँको योजना भएकाले ह्वात्तै बोनस नघटला । अहिले कागजै हेरेर बोनसको अवस्था यस्तै हुन्छ भन्ने अवस्था त छैन् । तैपनि जीवन बीमा कम्पनीहरुले बोनसको सही व्यवस्थापन गर्नुपर्छ भन्ने मेरो भनाई हो ।’

Advertisement

Advertisement