अर्थतन्त्र ‘ड्राइभ’ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वको दूरदृष्टि नहुँदा समस्या आयोः गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको गुनासो गरेका छन् । 

मंगलवार महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतिहरु देखिएको बताए । गोल्छाले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको बताए । 

Advertisement

अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरु आएको भन्दै उनले भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताए । गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तीब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए । 

गोल्छाले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको बताए । बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको तर्क गर्दै उनले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नु भन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए । 

सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिवन्ध, चालु पुँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको गोल्छाको भनाई छ । उनले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बँचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको बताए । 

गोल्छाले सरकारले उद्योगी व्यवसायीहरुको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए । सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने गोल्छाले बताए । 

उनले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गरे । गोल्छाले पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने बताए । गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसक्ने बताए । 

उनले  सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताए । गोल्छाले क वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताए । उनले अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार,शोधानान्तर स्थिति वचत भएको बताए । 

नेपालको जीडीपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको गोल्छाको भनाई छ । उनले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमुलक क्षेत्रमा लगानी नभएको संकेत गरे । गोल्छाले बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताए ।

Advertisement

Advertisement