हिउँदमा वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्छ, सरकारले खाद्यान्नको जोहो गरोसः उप्रेती

Advertisement

काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । 

जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् । 

Advertisement

विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औषत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए । नानसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरुको सुरक्षामा जोड दिनुपर्ने बताए । 

उनले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिएपनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको बताए । उप्रेतीले हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकोले सरकारले समयमा नै विपद पूर्व सूचना र विपद पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताए । उप्रेतीले हिउँदे वर्षा नहुँदा वायु प्रदुषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताउँदै सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुपर्ने र हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताए । 

उप्रेतीले समुन्द्र सतहको तापक्रम औषत भन्दा कम हुनु, पश्चिमी वायु नवहनु, प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको बताए । उनले समुन्द्रको सतहको तापक्रम ५० वर्ष पछिकै कम रहेको उल्लेख गरे ।  

Advertisement

Advertisement