एसेम्लिङ प्लान्ट खोल्न सरकारले नेपाली उद्योगीलाई दिएको सुविधामा भारतीय कम्पनीको इर्ष्या

Advertisement

काठमाडौं । नेपालमै अटोमोवाइल उद्योगहरुको विकासका लागि लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले एसेम्लिङ प्लान्ट स्थापना गर्न सरकारले दिएको सुविधामा भारतीय अटोमोवाइल कम्पनी हिरो मोटोकर्पले लोभ गर्दै नेपालको आधिकारिक बिक्रेतालाई धम्क्याउने काम गरेको छ । 

हिरोको नेपालको आधिकारिक बिक्रेता ज्योति समूहअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम) नेपालमा हिरोका दुई पांग्रे सवारी साधनहरुको निर्माण गर्ने योजनाअनुसार एसेम्लिङ प्लान्ट राखेपछि प्लान्ट राख्ने उद्योगीहरुलाई नेपाल सरकारले दिएको सुविधाको अधिकांश (९० प्रतिशत) हिस्सा आफूहरुलाई चाहिने भनेर विवाद सुरु गरेको हो । 

Advertisement

हिरो मोटोकर्पले एनजीएमलाई दिएको आधिकारिक बिक्रेता खारेज भएको भनेर पत्र पठाए पनि अर्कोलाई भने नियुक्त गर्न सकेको छैन् । उसले नेपालका अरु कम्पनीहरुलाई यो जिम्मेवारी दिन खोजे पनि कुनै कम्पनीले आँट गर्न सकेका छैन् । एसेम्लिङ प्लान्ट राख्दा नेपालमै रोजगारी सिर्जना हुने र नेपालमै अटोमोवाइल उद्योग विकासका लागि आधार सुरु हुने भन्दै सरकारले यस्ता प्लान्ट राख्न लगानीकर्तालाई प्रोत्साहित गरेको थियो । 

उद्योग खोल्दा हुने लगानी, जोखिम, बैंकको ब्याज, डेप्रिसियशन (ह्रास) जस्ता कुरालाई बेवास्ता गरेर हिरोले एसकेडी युनिट (सवारी साधन निर्माण गर्ने पार्टपुर्जा)मा १७–१८ प्रतिशत मूल्य बढाउने भनेपछि आफूहरुले आपत्ति जनाएको ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिले बताए । उनले आफूहरुले राम्रो बिक्री गर्न नसकेर नभई एसेम्लिङ प्लान्ट निर्माण गर्न सरकारले नेपाली उद्योगलाई दिएको सुविधाको अधिकांश हिस्सा उनीहरुले लान खोजेको र त्यसमा आफूहरुले विमति जनाएपछि धम्क्याउन सम्वन्ध बिच्छेदको पत्र पठाएको बताए । 

डा. ज्योतिले हिरो मोटोकर्पसँगै कुरा गरेर विवाद समाधानको प्रयास भइरहेको बताउँदै विवाद चाँडै समाधान हुने बताए । हिरो मोटोकर्पका अध्यक्ष तथा सीईओ डा. प्रेमकान्त मुन्जालसँग उनको राम्रो सम्वन्ध भएकाले विवाद धेरै नलम्बिने संभावना देखिन्छ । ज्योति समूहले विगत ३५ बर्षदेखि हिरो र होण्डा बिक्री गर्दै आएको छ । 

डा. रुप ज्योतिको प्रतिक्रिया
हिरो मोटोकर्पले पत्र पठाएको हो । तर एनजीएमले व्यवसाय राम्रो गर्न सकेन्, मोटरसाइकल तथा स्कुटर राम्रो बिक्री गर्न सकेन् भन्ने कुरा सही होइन् । कोभिड महामारीको प्रतिकुल समयमा पनि ७० हजार मोटरसाइकल बिक्री गर्न सफल भएको हो । जबकी मिटिङ हुँदा उसले हाम्रो निकै प्रसंशा समेत गर्नेगथ्र्यो । 

त्यही बेलामा विदेशी मुद्राको संचितिमा चाप परेको भन्दै सरकारले आयातमा कडाई गर्यो । हाम्रो सबैभन्दा बिक्री हुने मोटरसाइकलहरुको आयात पनि रोकिदियो । एकसय ५० सीसीभन्दा बढीका दुई पांग्रे सवारी साधनहरुको आयात रोकेको थियो । यसले गर्दा बिक्री केही घटेको हो । घट्नु स्वाभाविक हो । यो उनीहरुलाई पनि जानकारी छ । 

सरकारले आयातमा कडाई गर्ने, उद्योगमा लगानी गर्न सहयोग गर्ने नीति लिन थालेकाले एसेम्लिङ नगरी नहुने परिस्थिति उत्पन्न भयो । सरकारले एसेम्लिङ उद्योगलाई विशेष सुविधा दिने नीति ल्यायो । सोही अनुसार प्लान्ट निर्माण गर्न हामीहरु अघि बढ्यौं । त्यसका लागि पर्वानीपूरमा पहिलेदेखि केही पूर्वाधार पनि भएकाले सो ठाउँमा प्लान बनाउन सुरु गर्यौं । आवश्यक सामानहरु झिकाउने, कर्मचारी भर्ना गर्ने जस्ता सबै कामहरु गर्यौं । 

प्लान्ट राख्नुअघि इण्डियाबाट आउने भनेको सीबीयू (कम्प्लिटली बुल्ट युनिट) हो । यो भनेको सडकमा गुडाउन सकिने अवस्थामा आउने हो । यसरी आउने गरेका सीबीयूको एउटा मूल्य थियो । तर एसेम्लिङका लागि पार्टस्हरु छुट्टाएर सीकेडी (कम्प्लिट्ली नक्ट डाउन) आउँछ । हामीले यहाँ यस्ता पार्टपुर्जाको जडान गरेर उत्पादन गर्ने हो । साँच्चैभन्दा यसबाट मोटरसाइकल जोड्नलाई हिरो मोटोकर्पलाई खर्च नहुने भयो । 

अरुअरुले गरेको हिसावले हामीले पनि जुन मूल्यमा सीबीयू आउँछ, त्यही मूल्यमा उसको सीकेडी युनिट ल्याउने भनेर हिरोसँग सहमति भयो । छलफल र सहमति भएरै प्लान्ट बनाउन हामी अघि बढ्यौं । प्लान्ट बनाउन भवनदेखि जमिनको व्यवस्था गरियो । मेशिनहरु झिकाउने व्यवस्था गरियो । कर्मचारीहरु भर्ना गरियो । 

तर यो बीचमा हिरोको नेपालस्थित स्थानीय व्यवस्थापन टिमलाई के लाग्यो भने सरकारले त यिनीहरुलाई निकै ठूलो सुविधा दिएको रहेछ । यसले त नेपाली उद्योगीलाई निकै लाभ हुन्छ भन्ने भ्रम पर्यो । नेपालमै रोजगारी सिर्जना हुन्छ भन्ने हिसावले सरकारले केही सुविधा दिएको हो । यो सुविधा देखेर यहाँको म्यानेजरमा लोभ जाग्यो । उनीहरुले तिमीहरुलाई यति धेरै नाफा हुने भएछ भनेर सुविधाको ८५ देखि ९० प्रतिशत इण्डिया लान खोज्यो । सीकेडी युनिटको मूल्य १७ देखि १८ प्रतिशत बढाउँछौं, त्यती बढाएर पठाउँदा स्वीकार छ भने एसेम्लिङ प्लान्ट चलाउ भनेपछि हामीले आपत्ति जनाएको हो । 

हामीले भन्यौं कि सरकारले नेपालमा उद्योग खोल्न र रोजगारी सिर्जना गर्न दिएको सुविधा १० प्रतिशत मात्रै हामीलाई छोडेर ९० प्रतिशत तिमीहरुले लाने ? यसरी उद्योग खोल्दा सरकारले आयकरको अपेक्षा गरेको हुन्छ । विभिन्न खाले जोखिमको व्यवस्था गर्नुपर्ने हुन्छ । लगानी लगाउनुपर्ने हुन्छ । बैंकको ब्याज तिर्नुपर्ने हुन्छ । डेप्रिसियशन हुन्छ । त्यो मिल्दैन् । हामी सक्दैनौ भनेपछि उनीहरु नयाँ बखेडा सुरु गरेको छ । 

हिराले ग्लोबल विजनेशमा राम्रो कमाउन नसकेको पनि होला, उसले नेपालबाट बढी फाइदा निकाल्न खोजेको । श्रीलंकामा पनि उसको बिक्री बन्द छ । दक्षिण अमेरिकामा पनि राम्रो बिक्री छैन् । अरु ठाउँमा पनि त्यस्तै छ । नेपालमा मात्रै हामीले राम्रो गरिरहेका थियौं । सरकारले उद्योग खोल्न दिएको सुविधा सबै उनीहरुले लान खोजेपछि हामीले असहमति जनाएको हो । आफूहरुले भनेजस्तो नभएपछि उनीहरुले निउ खोजेको छ । 

हिरोले एसेम्लिङ प्लान्ट खोल्दाको खर्च र जोखिम हामीलाई कुनै पनि मतलब छैन्, प्रतिमहिना रेन्ट (भाडा) मात्रै हिसाव गर्न दिन्छौं भन्छ । उद्योग चलाउनेलाई बहालमा उद्योग चलाए चलाउ, नचलाए नचलाउ भन्न मिल्छ ? भवनको त यहाँ छुट्टै हिसाव हुन्छ । त्यसको डेप्रिसियशन हुन्छ । त्यसोभन्दा पनि नमान्ने ? रेन्ट मात्रै दिनसक्छौं अरु दिनसक्दैनौं भन्छ । सीकेडी युनिटको भाउ बढाउँछौं भनेर विवाद सिर्जना गर्ने काम भयो । हिरोको चेयरमेनसँग मेरो सम्वन्ध भएकाले सरकारले हामीलाई दिएको सबै सुविधा किन उनीहरुलाई दिने ? भनेर मैले अडान लिएको हो । तिमीहरुले यस्तो निउ खोज्ने हो भने हिरोको अफिसमा नै मिटिङ गराउ, त्यहीं हामी कुरा राख्छौं भन्दा यहाँको लोकल म्यानेजरहरु मानिरहेको छैन् । 

उनीहरुले हामीलाई प्रेसर गरेको हो । धम्क्याउन खोजेको हो । उसले अहिलेसम्म कसैलाई बिक्रेता नियुक्ति गरेको छैन् । हाम्रो विशाल सेटअप छ । सात दर्जनभन्दा बढी डिलरहरु छ । अर्बौं रुपियाँको लगानी छ । एक–दुई महिनाभित्र अरुले यो संरचना तयार पार्न सक्दैन् । उनीहरुले अरु कम्पनीहरुसँग कुरा चलाइरहेको हामीलाई जानकारी आएको छ । तर उनीहरुले पनि अथोराइज डिलरसिप लिने आँट गरेको छैन् । एसेम्लिङको नब्बे प्रतिशत सुविधा उसैले लाने हो भने कस्ले काम गर्छ र ? हिरोसँग काम गर्न निकै झन्झट भए पनि हामीहरुले आफ्नो लामो अनुभवका आधारमा ग्राहकलाई मर्का नपरोस् र उसको पनि प्रतिष्ठा नबिग्रियोस् भनेर अहिलेसम्म काम गर्दै आएका थियौं । अहिले उनीहरुले कतिसम्म धम्क्याउँछ ? कतिसम्म टिक्छ ? हेर्न बाँकी छ । 

Advertisement

Advertisement