मर्जरमा जान नसकेको एशियन लाइफ र मर्चेन्ट कम्पनीबीच हकप्रदका लागि एक करोडको 'डिल'

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद (राइट) शेयर निष्काशनका लागि एक मर्चेन्ट कम्पनीसँग एक करोड रुपियाँको डिल गरेको खुलासा भएको छ । 

तोकिएको पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरणसँग लबिङ गरिरहेको एशियन लाइफले मर्चेन्ट कम्पनीसँग अनधिकृत आर्थिक चलखेल गर्दै हकप्रद शेयर निष्काशनको बाटो खोल्न लागिपरेको हो । हकप्रद शेयरको सुविधा विदेशी लगानीका बीमा कम्पनीहरुलाई मात्रै दिइएको हो । बाध्यकारी मर्जरमा जानुपर्न आनाकानी गर्दै समय व्यतित गरेको एशियन लाइफले हकप्रदमार्फत पुँजी पुर्याउन गलत बाटो रोजेको हो ।

Advertisement

एक उच्च स्रोतले भन्यो, ‘जबरजस्ती हकप्रद शेयर निष्काशन गर्न एशियन लाइफ लागिरहेको छ । मर्चेन्ट कम्पनीले राइट शेयर निष्काशन गर्न आनकानी गरेपछि एक करोड रुपियाँ घुस दिने प्रस्ताव अघि सारेको अवस्था छ । एशियन लाइफले मर्जरमा गएर तोकिएको पुँजी पुर्याउन सकिने सिधा बाटो छोडेर गलत बाटो रोजेको देख्दा पनि नेपाल बीमा प्राधिकरण मौन बसेकोमा आफूलाई आश्चर्य लागेको उनले बताए । 

उक्त स्रोतको थप भनाई छ, ‘प्राधिकरणले पुँजी वृद्धिको नाममा जबर्जस्ती मर्जरको बाटो रोज्न लगाएको छ । पुँजी वृद्धिका लागि कि मर्जर हो । कि राइट शेयर नै हो । तर प्राधिकरण यो फोर्स मर्जर पनि होइन् भन्छ । राइट शेयरमा जान पनि दिँदैन् । यसले त बाध्य भएर कम्पनीहरु भित्रभित्रै गलत बाटोमा जानुपर्ने, घुस खुवाउनुपर्ने अवस्थामा पुग्छन् । एशियन लाइफमा भएको पनि त्यही हो ।’

प्राधिकरणले आउँदो चैतभित्रै स्वदेशी लगानीका कम्पनीलाई तोकिएको पुँजी पुर्याउन समयसीमा दिएको छ । समय घर्किएपछि एशियलन लाइफले मर्जरका लागि उपयुक्त जोडि खोज्न पनि सकेको छैन् भने हकप्रद शेयर निष्काशन टुंग्याउन पनि सकेको छैन् । यता प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बढीमा ३० प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्न दिने कि भनेर छलफल मात्रै भएको बताउँदै त्यत्ति दिँदा पनि एशियन लाइफको पुँजी नपुग्ने बताए । 

उनले चैत मसान्तसम्म एशियन लाइफले के गर्छ ? आफूहरुले हेर्ने बताए । मर्चेन्ट कम्पनीसँग एशियन लाइफले पैसाको डिल गरेको कुरा भने आफूहरुको नआइपुगेको दावी गरे । 

यसअघि प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मर्जरमा जान चैत मसान्तसम्मको समय दिएकाले सो समयभित्र कम्पनीहरुले पुँजी पुर्याउन आवश्यक काम गर्नैपर्ने बताएका थिए । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भनेका थिए, ‘पुँजी पुर्याउन प्रयास गर्दागर्दै पनि थोरै रकम पुगेन भने २५ देखि ३० प्रतिशतसम्म राइट शेयर निकाल्न दिने कि भन्ने सोचेका छौं । यो अहिले दिने भनेको होइन् । पहिले चैत्रसम्म कम्पनीहरुले कति पुँजी पुर्याउँछन् ? हेर्छौं ।’ 

हाल जीवन बीमा क्षेत्रमा मर्जरका लागि सानिमा लाइफ र रिलायन्स लाइफ, ज्योती लाइफ र सूर्या लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ लाइनमा छन् । त्यस्तै, एलआईसी नेपाललाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । यस कम्पनीमा भारतको लाइफ इन्स्योरेन्स कर्पोरेशनको लगानी छ । 

त्यस्तै, सञ्चालनमा आएदेखि साधारण शेयर (आईपीओ)समेत निष्काशन नगरेका सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र आईएमई लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका लागि प्रयास गरिरहेका छन् । नेपाल लाइफको भने पहिले नै तोकिएको पुँजी पुगिसकेको छ । 

अहिले एशियन लाइफको चुक्ता पुँजी दुई अर्ब ९० करोड ८१ लाख रुपियाँ रहेको छ । प्राधिकरणको निर्देशनअनुसार चैतभित्र सबै जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्नुपर्छ । 
  

Advertisement

Advertisement