बजारमा मैदा अभावका कारण इतिहास बोकेको नेबिको बिस्कुट सकसमा

काठमाडौ । नेपालको बिस्कुट उत्पादनका क्षेत्रमा छुट्टै इतिहास बनाएको नेबिको (नेपाल बिस्कुट कम्पनी) बजारमा मैदा अभावका कारण समस्यामा परेको छ । विदेशी बिस्कुटको बढ्दो प्रभाव कम गर्न महत्वपूर्ण योगदान दिँदै आएको नेबिकोले बजारमा मैदा र चिनीको अभावका कारण मूल्य आकासिएपछि उत्पादनमा भारी कटौती गर्न बाध्य भएको छ । 

कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ प्रमुख अरुण पौडेलका अनुसार छ महिनाअघि बिस्कुट बनाउन आवश्यक मैदा बोराको दुई हजार पाँच सयमा आउँथ्यो । बजारभा अभाव सुरु भएसँगै मूल्य बढ्दै गएर अहिले बोराको पाँच बजार पुगेको छ । मैदान र चिनीको मूल्य आकासिएसँगै कम्पनीको लागत समेत ह्वात्तै बढेर गएको र उत्पादनमा समेत कटौती गर्न परेको भन्दै उनले आफूहरु असहज स्थितिमा रहेको बताए । 

Advertisement

पौडेलले भने, ‘बजारमा मैदा र चिनीको अभाव भएर भाउ झण्डै दोब्बरसम्म पुगेकाले पहिला जति उत्पादन गर्न सकेको छैन् । यो स्थिति आउनमा देशको अहिलेको आर्थिक मन्दीको परिस्थिति पनि जोडिएको छ । बिस्कुट बनाउन चाहिने वस्तुको भाउ बढेपछि कम्पनीको खर्च पनि बढ्ने भइहाल्यो । खाद्यान्न आपूर्ति सहजरुपमा उपलब्ध नहुँदा उद्योग चलाउन समस्या भएको छ ।

उद्योगमा आगलागी भएर ठूलो क्षति भएपछि नयाँ उर्जाका साथ उद्योग पुनः सञ्चालनमा ल्याए पनि अहिले परिस्थिति जटिल बन्न पुगेको सुनाउँदै उनले आगलागीबाट ५० करोड रुपियाँको क्षति हुँदा उद्योग तंग्रिन नसकेको बताए । खाद्यान्न सहजरुपमा पाउन थालेपछि उद्योग चौबिसै घण्टा सञ्चालनमा ल्याउने पौडेलले बताए । उनले अहिलेको असहज आर्थिक स्थिति चाँडै सहज भइदियोस् भन्ने आफूहरुको अपेक्षा रहेको बताए । 

Advertisement

पौडेल भन्छन्, ‘हामी नेपाली जनतालाई अझै सय बर्ष गुणस्तरीय र विभिन्न स्वादका बिस्कुट र अन्य उत्पादन खुवाउन तयार छौं । मुल कुरा देशमा उद्योग सञ्चालनको सहज वातावरण बनोस भन्ने हो ।’ उनले नयाँ उत्पादनहरु ल्याउने योजनामा कम्पनी रहेको बताए । पौडेलले थपे, ‘नेपाली बजारमा कुन कम्पनीले नयाँ के ल्याउँदैछ ? भन्ने कुरा हामीलाई जानकारी हुन्छ । त्योभन्दा पहिला नै हामीले त्यस्ता प्रोडक्ट ल्याइसकेका हुन्छौं ।’

छ दशक लामो बिरासत बोकेको नेबिको तत्कालिन राजा महेन्द्रको पालामा सुरु भएको हो । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिकोले अहिले विभिन्न स्वादका ५० भन्दा धेरै बिस्कुट, छ थरी कुकिज, छ वटा चकलेट, ओर्टस, कन्नफेक्स, चोकोज र सुख्खा बदाम बिक्री गर्दै आएको छ । नेबिको बिस्कुट बालकदेखि वृद्धसम्मको रोजाईमा पर्ने भन्दै पौडेलले नेपाली बजारमा नेबिकोका उत्पादनको मूल्य १० देखि सय रुपियाँसम्म पर्छ । 

यही फागुनमा नै तीन प्रकारका नयाँ कुकिज र बिस्कुट उत्पादन सुरु गर्ने योजना बनाएको नेबिकोले बालाजु र भैरहवामा गरी तीन सयलाई रोजगारी दिएको छ । नेबिकोका उत्पादनहरु देशका सबै जिल्ला र गाउँसम्म पुग्ने गरेको पौडेलले दावी गरे । बिदेशी बिस्कुटको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न आफूहरुलाई चुनौति भए पनि नेपाली बजार सुहाउँदो उत्पादनहरु दिँदै आएको बताए । 

Advertisement