अध्ययन नगरी लागू गर्दा फ्युचर बोनस प्रोभिजन पटक पटक संशोधन गर्न प्राधिकरण बाध्य

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पटक पटक फ्युचर बोनस प्रोभिजन (भविष्यको लागि गरिएको बोनस योजना) परिमार्जन गरेको भन्दै बीमा कम्पनीहरु रुष्ट भएका छन् । प्राधिकरणले अध्ययन नगरी यो नीति लागू गर्दा अहिले परिमार्जन गर्नुपर्ने अवस्था आएको उनीहरुले टिप्पणी गरेका छन् । 

पाँच बर्षभित्र सत प्रतिशत प्रोभिजन गर्नुपर्ने नीति ल्याएको प्राधिकरणले हालसम्म उक्त व्यवस्थामा तीन पटक संशोधन गरिसकेको छ । तर प्राधिकरणले भने प्राभिजनको मापदण्ड संशोधन हुँदैमा समस्याको रुपमा लिनु जरुरी नरहेको जवाफ दिएको छ । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले फ्युचर बोनस प्रोभिजन बीमा कम्पनीहरुकै हितका लागि ल्याएको र परिमार्जन पनि उनीहरुकै सहजताका लागि गरेकोले कम्पनीहरुले कुनै पनि सन्देह लिनु जरुरी नरहेको बताए । 

उनले भने, ‘हामीले फ्युचर बोनस प्रोभिजन ल्याउनुको मुख्य उद्देश्य भनेकै बोनस दरमा एकरुपता कायम होस् भनेर हो । तर तोकेको प्रावधान कार्यान्वयन गर्दै जाँदा अवस्था केही फरक देखियो । फेरि हामीले बीमा कम्पनीलाई नै सहज होस भनेर यसको प्रावधानमा हेरफेर गरेका हौं ।’

थोरै पूराना कम्पनीको दबाब र स्वार्थमा प्रोभिजनिङको व्यवस्थामा पटक पटक हेरफेर गर्ने काम भएको भन्दै नयाँ कम्पनीका सीईओहरुले यसले बीमा क्षेत्रमा नीतिगत अस्थिरता ल्याउनसक्ने तर्क गरेका छन् । जवाफमा पौडेलले कुनै निश्चित कम्पनीका लागि नभई समग्र बीमा बजारमा बोनस दरमा एकरुपता ल्याउने प्राभिजनिङको व्यवस्थामा परिमार्जन गर्नुपरेको बताए । 

प्राधिकरणले अघिल्लो आर्थिक वर्षको सुरुवातमा सबै जीवन बीमा कम्पनीहरुलाई सतप्रतिशत रकम फ्युचर बोनस प्रोभिजनका लागि जोगाड गर्न निर्देशन दिएको थियो । सुरुवाती चरणमा आफ्नो निर्णयमा अडान लिँदै आएको प्राधिकरणले केही समयपछि पूर्वनिर्णय सच्याउँदै ५० प्रतिशतसम्म रकम जोगाड गर्न मिल्ने व्यवस्था गरेको थियो । 

पछिल्लो पटक भने प्राधिकरणले ३५ प्रतिशत मात्रै रकम जोगाड गरे पुग्ने व्यवस्था गरिएको छ । सुरुवाती चरणदेखि नै केही ठूला तथा पूराना बीमा कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था कार्यान्वयन गर्न ढिलाई गरेका थिए । उक्त व्यवस्था कार्यान्वयन गर्दा उनीहरुको बोनस दरमा भारी गिरावट आउनसक्ने चुनौति थियो । 

तत्कालिन समयमा एलआईसी नेपालका सीईओ एलपी दासले फ्युचर बोनस प्रोभिजनको व्यवस्था राम्रो भए पनि यसले लगानीकर्ता र बीमितले पाउने प्रतिफलमा भने नकारात्मक असर पर्न नहुने बताएका थिए । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले प्रोभिजनिङका कारण बोनस दर घट्ने अवस्था आउन दिन नहुने भन्दै तत्कालिन बीमा समिति घेराउ गरेका थिए । 

तर नेशनल लाइफ इन्स्योरेन्सका सीईओ सुरेश खत्रीले भने फ्युचर बोनस लागू भए पनि आफूहरुको बोनस दरमा गिरावट नआउने दावी गरेका थिए । 

Advertisement

Advertisement