नौ महिनाको प्रयासमै मर्जर प्रक्रिया सफल भएकोमा हिमालयन र सिभिलका अध्यक्षहरु दंग

Advertisement

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रक्रियालाई पूर्णता दिई शुक्रबार एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकका अध्यक्षले मर्जर प्रक्रिया सुरु गरेको नौ महिनामा नै एकीकृत कारोबार गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।  

प्रचण्डबहादुर श्रेष्ठ, अध्यक्ष, हिमालयन बैंक
 विगत ३० वर्षदेखि हिमालयन बैंक भरपर्दो, सुरक्षित र प्रविधिमैत्री बैंकको रुपमा रहँदै आएको छ । कसैसँग पनि मर्जर नगरी छ करोड रुपियाँ चुक्ता पुँजीबाट सुरु भएको हिमालयन बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब रुपियाँभन्दा माथि पुगेको छ । करिब १ वर्ष अगाडी डिमर्जरको सहमति पाए पश्चात सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिलाई प्रोत्साहित गर्न, बैंकको क्यापिटल बेस ठूलो बनाउन तथा व्यवसायिक विकास गर्नका लागि हिमालयन बैंक एउटा मिल्ने सहयात्रीको खोजीमा थियो । देशको आर्थिक स्थिरतामा समेत मद्दत पुग्ने हिसाबले हामीले आफ्नो सहयात्री सिभिल बैंकलाई देख्यौं । 

Advertisement

स्वर्गीय हिमालय शम्शेर राणा हुँदा हाम्रो सिभिल बैंकसँग मर्जर सम्झौता भएको थियो । हामी आगामी दिन दुई बैंकका बलिया पक्षहरुमा एकता गर्दै समृद्धिको बाटोमा अघि बढ्ने छौं । हामी अझ बृहदरुपमा अघि बढ्ने छौं । मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब रुपियाँ पुग्नेछ । बैंकको कूल निक्षेप २७४ अर्ब रुपियाँ पुग्नेछ । कर्जा २५० अर्ब रुपियाँ पुग्नेछ । आजबाटै बैंकको हर्ष उल्लासका साथ नेपालभरी १८९ शाखा भएको छ । त्यस्तै, २० एक्सेन्सन काउन्टर २६३ भन्दा बढी एटीएम बुथ हुने भएका छन् ।

अब हाम्रो ध्यान देशको एउटा सबल र उत्कृष्ट बैंक बन्नेतर्फ छ । हामीले हाम्रा शेयरधनी तथा प्रमोटरहरुलाई उच्चतम प्रतिफल समेत प्रदान गर्नेछौं । हामीले अन्तर्राष्ट्रिय सेवा सुविधा प्रदान गर्नेछौं । म बैंकको उज्वल भविष्यका लागि कामना गर्दछु । 

प्रतापजंग पाण्डे, अध्यक्ष, सिभिल बैंक 
हामी दुई बैंक एक भएका छौं । हाम्रो नौ महिनादेखिको प्रयासले सार्थक रुप लिएको छ । आजबाट हिमालयन बैंकको हिसाबले एकीकृत कारोबार समेत सुरु भइसकेको अवस्था छ । यहाँहरुले सबै फिगरहरु त देखिसक्नु भयो । हाम्रो अवस्था के हुनेछ ? भन्ने कुराहरु सबै चित्रण भइसकेको छ । 

आज म विशेषगरी कार्यसम्पादन भइसकेको अवस्थामा यो मर्जरलाई सफल बनाउने दुवै बैंकका संचालक समितिका साथीहरु, विशेषगरी संयुक्त मर्जर कमिटिलाई विशेष धन्यवाद दिन चाहान्छु । आगामी दिनमा सिभिल बैंकले ग्राहण गरेको डिजिटलाईजेसनको माध्यम थियो, त्यही हिसाबले कम कर्मचारीबाट बढी भन्दा बढी प्रतिफल निकाल्ने हिसाबले हामी अघि बढिरहेका थियौं । त्यही अवधारणालाई आगामी दिनमा पनि हिमालयन बैंकले अबलम्वन गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

हामी एक भएता पनि अबको दिनमा हिमालयन बैंकमा एक दमै परिपक्व कर्मचारीहरुको समायोजन भएको छ । त्यस्तै, यूवा तथा उर्जावान साथीहरुको समेत समायोजन भएको अवस्था छ । नियामक निकाय नेपाल राष्ट्र बैंक, अरु निकाय र मर्जर सफल बनाउन अहोरात्र खटिने मित्रहरुलाई पनि म विशेष धन्यवाद दिन चाहान्छु । 

Advertisement

Advertisement