‘एउटै काम गर्ने दुई वटा प्रणाली किन चाहियो ? सहकारी र लघुवित्तमध्ये एउटा खारेज गर्दाहुन्छ’

Advertisement

काठमाडौं । उद्योगपति तथा बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष एकै प्रकृतिको काम गर्दा दुई खालको संरचना राख्ने कुरा गलत हो भन्दै सहकारी र लघुवित्तमध्ये एउटा सिस्टमलाई खारेज गर्नुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विना अध्ययन हचुवाको भरमा सहकारी र लघुवित्तको लाइसेन्स दिने र दुवैले एकै प्रकृतिको काम गर्न अस्वस्थ प्रतिस्पर्धा हुँदा समस्या सिर्जना भएको बताउँदै आफ्नो व्यक्तिगत विचारमा दुई खालको प्रणालीमध्ये एउटालाई राखेर अर्को खारेज दर्ता उचित हुने बताए । 

Advertisement

यद्यपि यो सिविफिनको धारणा नभएको पोल्याणले स्पष्ट पारे । ‘अब हामीले सोच्नुपर्ने हो कि पाँच तहको बैंक चाहिन्छ कि चाहिँदैन् ? हामीलाई कति किसिमको बैंक चाहिने हो ? हामीलाई सहकारीको आवश्यता हो कि माइक्रोफाइनान्सको ?’ उनले भने, ‘दुई वटामा एउटा मात्रै आवश्यक छ मेरो विचारमा । मेरो यो संस्थागत धारणा होइन् । यति धेरै तहका बैंक र सहकारीको आवश्यकता छ कि छैन् ? राष्ट्र बैंकले डिफाइन गरिदिनुपर्यो । कुन तहको बैंकको काम के हो त्यो प्रष्ट भन्दिनुपर्यो ।’ 

सहकारी र माइक्रोफाइनान्समा एउटा चाहिन्छ भन्दै गोल्याणले कुन चाहिन्छ ? कस्तो चाहिन्छ ? त्यो सरकारले निर्णय गर्ने कुरा हो भने । उनले थपे, ‘एउटै प्रकृतिको काम गर्ने दुई दुई वटा प्रणाली किन चाहियो ? यदि ७५३ वटा पालिकामा ७५३ वटा सहकारी भएर त्यसका शाखाहरु पालिकाभित्र खोल्न दिने हो भने पुगिहाल्यो । नभए त्यो ठाउँमा माइक्रोफाइनान्स चाहियो । एउटै कामको लागि दुई खालको संरचना किन चाहियो त्यो पनि यति धेरै संख्यामा ? यिनीहरुलाई मर्ज गर्न र संख्या घटाउन कठोर नीति ल्याउनुको विकल्प छैन् । र, यसको नियमन गर्ने दह्रो निकाय पनि हुनुपर्छ । खुल्ला छोडेर हुन्न । खुल्ला छोड्दा असाध्यै ठूलो बिकृति आयो ।’

उद्योगपति गोल्याणले सहकारीले एक–एक करोड नगद राख्न र दिन मिल्ने, बैंकले १० लाखभन्दा बढी नमिल्ने हालको विद्यमान व्यवस्थाको पनि आलोचना गरे । उनले प्रश्न गरे, ‘सहकारीका ग्राहक को हुन् ? किन एक एक करोड राख्न मिल्ने ? करोडौं कर्जा दिन मिल्ने सहकारीले । बैंकले किन नमिल्ने ?’ 

लघुवित्त संस्थाले कर्जा दिन मिल्ने निक्षेप लिन किन नमिल्ने कुरा पनि नमिल्दो भएको उनले बताए । गोल्याणले सहकारी र लघुवित्तले रकमको सही सदुपयोग नगरेको बताउँदै उनीहरुको समस्या समाधान गरेर सहजीकरण गरिदिने काम पनि सरकारले गर्न नसकेको बताए । उनले भने, ‘उनीहरुलाई प्राविधिक समस्या छ कि ? वा उनीहरुलाई आफ्नो प्रोडक्ट बिक्री गर्न समस्या छ कि ? वा अन्य कुनै समस्या छ भने त्यसमा सहजीकरण गरिदिनुपर्ने हो । पैसा मात्रै दिएर मात्रै हुन्न ।’

कसैलाई सहकारी खोलेर आफूले अवैध ढंगले कमाई गरेको रकम जम्मा गर्नुपरेको, त्यो रकम घरजग्गामा लगानी गरेर धनी हुनुपरेको, कसैलाई लघुवित्त खोलेर बुक्सलाई ठूलो देखाएर शेयर बढाएर धनी हुनुपरेको भन्दै गोल्याणले रातारात धनी हुने लोभले गर्दा अहिले सहकारी र लघुवित्तमा संकट आएको बताए । 

सहकारीका कारण नेपालमा समानान्तर अर्थतन्त्रको निर्माण भएको बताउँदै यही अर्थतन्त्रले गर्दा आर्थिक विकृति र अपराधहरु पनि बढेको उनको विश्लेषण छ । गोल्याणले भने, ‘अहिले हामी समानान्तर अर्थतन्त्र भन्छौं, त्यो सहकारीबाट नै सञ्चालन भइरहेको छ । यसको अर्थ गलत लाग्ला । तर वास्तविकता यही हो । जबसम्म समानान्तर अर्थतन्त्र रोक्ने आँट गर्दैनौं, तबसम्म हाम्रो अर्थतन्त्रमा समस्या रहिरहन्छ । विकृति रहिरहन्छ । सहकारीको लगानी अपारदर्शी भयो । चाँडै नाफा गरेर धनी हुन जथाभावी लगानी गरियो । अवैध ढंगले हुने आम्दानी र कारोबारको पैसा सहकारीका जम्मा भयो । हामीले भन्दै आएको पनि त्यही हो बैंक तथा वित्तीय संस्था परिसंघले ।’

सहकारीको काम आफ्नो गाउँ समुदायमा साना साना पेशा, व्यवसाय, जसलाई बैंकले ऋण दिँदैन्, उनीहरुको दैनिक बचत परिचालन गर्ने, ऋण प्रदान गर्ने भएको गोल्याणको धारणा छ । उनले बैंकको जस्तो करोडौंको बचत लिने र ठूलो ठूलो लगानी गर्ने होइन भन्दै करोडौं करोडको ऋण सहकारीले दिने भए बैंकले के दिने त ? सहकारीले पनि त्यही काम गर्ने हो भने घ वर्गका बैंकले के गर्ने ? उनीहरुको रोल के त ? भनी प्रश्न गरे । 

गोल्याणले सहकारीहरु राजनीतिक र प्रशासनिक तहमा पहुँच राख्नेहरु, जग्गा कारोबारीदेखि हुण्डी कारोबारीको हात र संरक्षणमा रहेको बताउँदै यसमा सुधार गर्ने प्रयास गर्दा रोक्ने काम हुने गरेको बताए । उनले भने, ‘सहकारी ठूलाबडाको हातमा छ, जसको माथि पहुँच छ राजनीतिक र प्रशासनिक तहमा । जग्गा कारोबारीदेखि हुण्डी कारोबारीको हातमा छ । त्यही कारणले गर्दा पनि कुनै सुधार गर्न खोज्यो कि रोक्ने काम हुन्छ । यसैले गर्दा अहिले विकृति आयो । यो यो ‘वेकअप कल’ हो । यो ‘वार्निङ’ हो । हामीले अहिले चेतेनौ भने पूरै वित्तीय प्रणाली भताभुंग हुन्छ । 

Advertisement

Advertisement