जनार्दन शमासँग निकट मानिएका पृथ्वी शाहलाई ठगीसम्बन्धी चार वटा मुद्दा लगाउनपर्ने सुझाव

Advertisement

काठमाडौं । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउने तयारी गरिएको छ । उनी पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग निकट मानिन्छन् । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी)ले बुधबार पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्धा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो । 

Advertisement

अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासले नै जानकारी गराएपछि शाहसहितका सात जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । 

यस घटनामा संलग्न पृथ्वीसहित सात जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि थापाले बताए । उनले आरोपीहरुमाथि सहकारी ऐन अनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए । 

दोषी औंल्याइएकाहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपियाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन । केही क्यानाडियन र बेलायती नागरिक पनि उनीहरुबाट पीडित रहेको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले भनाई छ । 

उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेको प्रहरीको भनाई छ । ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको पनि प्रवक्ता थापाले बताए । 

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपियाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ । पूर्वमन्त्री शर्मा अर्थमन्त्रीबाट पदमुक्त भएपछि शाहविरुद्ध कानुनी कारवाही अघि बढाइएको थियो । 

Advertisement

Advertisement