मौलिक बीउको जगेर्ना गर्नुको साटो हराउन लागेकोमा व्यवसायीको चिन्ता

Advertisement

काठमाडौं । बीउ विजन व्यवसायीले बार्षिक अर्बौंको बीउ बिजन विदेशबाट आयात भए पनि त्यसलाई कम गर्न स्वदेशी उद्यमीलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् । 

नेपाल बीउ व्यवसायी संघको राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारण सभामा व्यवसायीहरुले मौलिक बीउको जगेर्ना गर्नुको साटो विदेशी बीउमा बढी जोड दिइएकाले बीउको परनिर्भरताले मौलिक कृषि उपजसमेत हराउने खतरा रहेको बताए । 

Advertisement

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले २०५२ सालसम्म विदेशमा बीउ निर्यात हुने अवस्था भए पनि अहिले कृषि उपजसम्म बाहिरबाट आयात हुने अवस्था आएको भन्दै आत्मनिर्भरतामा देशपछि परेको गुनासो गरे । 

आफूहरु व्यवसायीसँग हातेमालो गर्न तयार रहेको भन्दै उनले भने, ‘तर कृषिमा आत्मनिर्भरताका लागि व्यवसायिक पहल हुनुपर्छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको भन्दै खेतीपातीका बेला सधैं मलखादको अभाव हुनु बिडम्बनापूर्ण भएको गुनासो गरे । 

उनले नियमन मात्र गर्ने तर प्रोत्साहन नगर्दा निजी क्षेत्र उत्साही बन्न नसकेको गुनासो गरे । श्रेष्ठले भने, ‘सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन भन्दा नियमन बढी गर्छ,’ उनले भने,‘नियमनसँगै प्रोत्साहन पनि जरुरी छ, त्यसो भए मात्र उद्यमशीलता बढ्छ ।’

कृषि विकास महाशाखाका सहसचिव राजेन्द्रप्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्दै नयाँ बजेटमा व्यवसायीका गुनासा सम्बोधन गर्न प्रयास गरिने बताए । नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक दीपक भण्डारीले खाद्य सुरक्षाका लागि निजी क्षेत्रलाई अधिकार दिन तयार रहेको बताए ।

संघका अध्यक्ष बसन्तचन्द्र मरहठ्ठाले देशमा कृषिको विकासका लागि बीउ विजनको सहज उपलब्धता अनिवार्य शर्त भएकाले स्वदेशी उद्योगी तथा व्यवसायीलाई सहज वातावरण तयार गरिदिन आग्रह गरे ।

संघका महासचिव स्वदेशमा बीउ विजनका लागि अनुसन्धानमा ठूलो लगानी गर्न निजी क्षेत्र सक्षम नभएको भन्दै सरकारसँग सहायता माग गरे । संघका उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले कृषिमा आत्मनिर्भरता बढाउन देश बीउमा पनि आत्मनिर्भर हुनुपर्ने भन्दै स्वदेशी बीउको गुणस्तर वृद्धिका लागि राज्यबाट साथ आवश्यक रहेको बताए ।

Advertisement

Advertisement