सहकारीको पैसा घरजग्गा र शेयर बजारमा जाँदा समस्या आएको होः कार्यकारी निर्देशक, राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको  भूमिका कमजोर देखिएको बताएका छन् । 

बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको कार्यक्रममा उनले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिए पनि त्यो व्यवहारमा देखिएन ।’

Advertisement

श्रेष्ठले अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ? भन्दै प्रश्न पनि गरे । उनले उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो भन्दै तर परिणाममा नदेखिएको बताए । 

सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको श्रेष्ठको भनाई थियो । उनले भने, ‘सहकारीको लगानीको प्राथमकिता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादनमुखी हुन्छ ? संस्थाले त्यतातिर सोच्ने हो ।’

कार्यकारी निर्देशक श्रेष्ठले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मात्र होइन सहकारीको पैसा समेत शेयर बजारमा गएको हुनसक्ने आशंका गर्दै कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए । 

विश्व आयात निर्यातको चेनमा प्रभाव परी नेपालको आयात घट्दा राजस्व पनि गुमेको उनले बताए । तर रेमिट्यान्स, विदेशी लगानी आउन सके अर्थतन्त्र चलायमान हुने श्रेष्ठले बताए । उनले पछिल्लो समय मुलुकको वित्तीय स्थितिमा निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको बताए । यसले सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको श्रेष्ठको भनाई छ । 

Advertisement

Advertisement