कर्णालीको हिउँद

Advertisement

पदम भण्डारी
कर्णालीको हिउँद एक अर्थमा रोमाञ्चक हुँदोरहेछ भने अर्को अर्थमा वास्तवमै कष्टकर हुँदोरहेछ । हिउँदमा रात दिन हिउँ हुँदोरहेछ । हिउँदसँगै मान्छेहरुको जीवनमा पनि हिउँद हुँदोरहेछ । जीउ तातो बनाउन घामको ताप पर्खन ढिलो हुँदोरहेछ । घाम पनि त्यति लाग्दो रहेन छ हिउँदमा । घाम लागिहाले पनि जीउ तताउँदैन् घामले । घर आँगन, चोक, गल्ली, घरका छाना जताततै हिउँ मात्रै । कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट र जाजरकोटका केहि ठाउँ कपासले छोपेजस्ता सेता । कालिकोट अलि कम, मुगु त्यो भन्दा अलि बढी र जुम्ला र हुम्लाका धेरैजसो ठाउँहरुमा त जता हेर्यो उतै सेतै । जता गयो उतै चिसो । सल्लाका दाउराहरुले चुलो तताउनेबाहेक घरहरु तातो बनाउने कुनै प्रविधि छैन् । घर नतातिएपछि जीउ कसरी तातिन्छ त ? त्यहि भएर होला यहाँका धेरै मान्छेहरु जीउ तताउन झ्वाईंखट्टेतिर लागेका । आक़्कल झुक़्कल पिउने भए पो ब्राण्डेडतिर लाग़्ने । दिन दिनै ब्रान्डेड पिउन साध्य हुने कुरो भएन । अनि लाग़्छन् ठर्रातिर । ठर्रा पिएपछि गफ पनि ठूला ठूला हुने भए । गफ चुट्न थालेपछि दिन बिताउन पनि सजिलो भयो । काममा ब्यस्त नहुने समयमा निरासाले नछोपोस, दिक्दारीपना नबढोस भनेर उत्तम उपाय भनेको त्यहि हुनेरहेछ । झ्वाईंखट्टे, थोपे, झिनिघिण्टे केही नाम चलेका ब्राण्डहरु । बेहोसीपनामा रम्ऩ पनि मजै हुँदोरहेछ । बेहोसीपनामा रम्नेहरु पनि थुप्रै देखें । कहिलेकहीं तीन हप्तासम्म हिउँले छोपेर राखेपछि त मान्छेको जीउ पनि सुकुटी होला भन्ने डर । 

एउटा हिउँद । एउटा जाडोयाम । जाडोयाममा हुम्लाको सदरमुकाम सिमकोटमा माईनस १७ डिग्री सेल्सियस । अनि जुम्लाको कर्णाली प्राविधिक शिक्षालय भएको ठाउँ घुघुतिमा माईनस १५ डिग्री सेल्सियस पुग़्दोरहेछ । कति चिसो भयो होला ? जुम्लाको सदरमुकामका केही निजी बैंकहरुमा अलि अलि रकम भए मात्र, नत्र सरकारी बैंकहरुबाट पैसा निकाल्न पनि पाईंदो रहेनछ । खाद्य संस्थानमा चामल र नुन हुँदो रहेनछ । बजारमा सामान हुँदो रहेनछ । धारामा पानी हुँदो रहेनछ । पाईपमै पानी जमेर धाराबाट पानी झर्दो रहेनछ । एयरपोर्टमा हिउँ थुप्रिएर हवाईजहाज उड्दो रहेनछ । हिउँले बिजुलीका पोल ढाल्दोरहेछ । तारमा हिउँ लटकिएर चुँडाइ दिँदोरहेछ । अनि विद्युत अवरुद्ध हुँदोरहेछ । बिजुली नभएपछि ब्याट्री चार्ज गर्न नपाएर टेलिफोन, मोबाइल अवरुद्ध हुँदोरहेछ । कामको खोजीमा भारत जाने समय त्यही पर्दोरहेछ । त्यही बेलामा दुई भएर पनि बस्न पाईंदो रहेनछ । अनि फुईको आडमा मात्र बस्नु पर्नेरहेछ । 

Advertisement

थुप्रै गधाहरुको जीवनलिला समाप्त हुँदोरहेछ जाडोमा । दश–बाह्र वटा कुकुर जम्मा भएर चारैतिरबाट घेरेर आफ्नो आहारा बनाउँदा रहेछन् गधाहरुलाई । नत्र कुकुरहरुले पनि के खाउन त ? त्यो बेलामा तिब्बततिर मान्छेहरु एक्लै भएको देख्यो भने कुकुरहरुले झम्टेर आहारा बनाईहाल्छन् रे । जति हिउँ थपिँदै जान्छ, त्यति कष्ट पनि थपिँदै जाँदोरहेछ । म जस्ता विकल्प नहुनेहरु मात्र त्यसबेला कर्णालीतिर भेटिँदारहेछन् । हिउँद अर्थात जाडोयाम राम्रो बहाना भयो नि जिल्ला नबस्ने । 

को कहाँ छ ? खोजी गर्न पनि मन नलाग़्ने चिसो । यस्तो बेलामा के गर्न सकिन्छ र ? खायो, पियो, झम्म पर्यो, लठ्ठियो । बस् । कतिलाई दृढ विश्वास छ । कतिलाई शंका छ । यस्तो ठाउँमा के गर्न सकिन्छ र ? भनेर । म यो नकार्न सक्दिन कि यो बेलामा कर्णालीमा बसेर काम गर्नु भनेको सजिलो छैन् । तर पनि जब जब त्यहाँ चिसो बढ्छ, डाँडापाखाहरु सेताम्मे हुन्छन्, तब म कर्णालीमा पर्यटनको ठूलो संभावना देख्छु । सेताम्मे कपासले ढाकेको बेला सेन्ट्रल हिटिङ सिष्टम बनाएर होटल तथा रेष्टुरेन्टहरु तताउन पाए ! एयरपोर्टको हिउँ सोहोरेर सफा गरेर काठमाडौंदेखि दैनिक हवाई उडान भर्न पाए ! दामन र फूलचोकीको नाम मात्रको हिउँ हेरेर चित्त बुझाउनु पर्ने युवायुवतीहरु हनिमुन मनाउन र कर्मचारी तथा व्यापारीहरु छुट्टि मनाउन कति जना आउँथे होलान ? 

कैलाश मानसरोवर यात्रा गर्ने मार्गको ढोका । कर्णालीको हुम्लामा पाईला मात्रै परे पनि पुण्य कमाईन्छ । हिन्दु धर्ममा मात्र होईन, जुनसुकै धर्ममा आस्था राख़्ने धर्मावलम्बी एवं पर्यटकहरुको लागि अनुपम धरोहर हो कैलाश मानसरोवर । भारतका तीर्थयात्रीहरुलाई मात्र पनि हुम्लाको बाटो हुँदै कैलाश मानसरोवरको यात्रा गराउन सकियो भने पुग्थ्यो । युरोप, अमेरिका तथा अन्यत्र ताक़्नै पर्दैनथ्यो । आन्तरिक पर्यटनले मात्रै पनि थेग्थ्यो होला । 

भन्नलाई त सजिलो छ तर गर्न त्यति सजिलो छैन् । गर्न पनि त्यति गाह्रो छैन् यदि त्यहाँ प्रतिवद्धता हुन्छ भने र जिम्मेवारी महसुस हुन्छ भने । कर्णालीको विकास गर्न त्यति ठूलो समस्या पनि छैन् । जिल्लामा कम्तिमा एउटा विमानस्थल कालोपत्रे भई दियो भने र वर्षैभरी हवाई यातायातलाई नियमित गर्न सकियो, बिजुली बत्तिको व्यवस्था गर्न सकियो, राम्रा होटल तथा रेष्टुरेण्टहरुको व्यवस्था गर्न सकियो भने धेरै समस्याको समाधान हुन्छ । त्यो भन्दा पनि ठूलो कुरा मैले केही गर्नपर्छ भन्ने धारणाले लाग़्नुपर्यो । 

हाम्रो बानी र संस्कार कस्तो बस्यो भने चिया पसलमा, चोकमा बसेर घण्टौं गफ चुटेर, गुड्डि हाँकेर बस्दा समय खेर गएको नदेख़्ने । तर, केही काम गर्नु परे फुर्सद छैन् भन्ने । कर्णालीमा प्रशस्त मात्रामा प्रकृतिले दिएको सम्पत्ति छ । जस्तै हिउँ, अग्ला पहाडहरु, विशिष्ट खालको भाषा, बसाई, देउडा संगीत, लामा संस्कृतिका साथै के कुराले पर्यटकहरुलाई तान्न सकिन्छ त्यहि मात्र गरे पनि कर्णालीको विकासमा ठूलो टेवा पुग्थ्यो । कर्णालीमा नयाँ चिजको विकास पनि गर्नुपर्दैन, भएको चिजको संरक्षण गरे पुग्छ । 

आखिरमा यो देशको विकासमा काँध थाप्ने भनेको यूवा वर्ग नै हो । यूवा वर्ग चीया र कफी गफमा रमाउँदै हठी र सिद्धान्तवादी हुनुभन्दा विवेकी र व्यवहारिक हुन जरुरी छ । हुन त म त्यो प्राकृतिक जेलभित्र जन्मेको होईन । तर मेरो जीवनको क्रियाशील समय अथवा भनौं सक्रिय समय प्रकृतिले दिएको पहाडको ठूलो भित्तासँग सिंगौरी खेल्न हिम्मत गरेर कर्णाली पुगेको व्यक्ति हुँ । यिनै सोचाईहरुमा भित्तामा टाँसिएको रङ्गीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै भुलेको पत्तै पाएनछु । 

लेखक भण्डारीसँग कर्णाली क्षेत्रमा विगतमा दुई दशक भन्दा बढी समय काम गरेको अनुभव छ ।

Advertisement