नेपालमा भित्रियो फरक खालको इलेक्ट्रिक स्कुटर, १२ पैसामा एक किमी यात्रा गर्नसकिने

Advertisement

काठमाडौं । एमभी दुगड समूहअन्तर्गतको विवेक अटोमोवाइल्स प्रालीले चर्चित इन्डोनेसियन विद्युतीय स्कुटर जेसिस्ट नेपालको बजारमा भित्राएको छ । सोमबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसको बिक्री शुभारम्भ गरे । 

नेपालमा पहिलो पटक भित्रिएका विभिन्न आकर्षक रंगमा उपलब्ध यी स्कुटरहरु बिक्री शुभारम्भ गर्दा एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड, निर्देशक विजय महतो र जेसिस्ट ब्राण्डका नेपालका लागि प्रमुख कनक जमर उपस्थित थिए । 

Advertisement

यसअघि रोयल्ड इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरु बिक्री गर्दै आएको यो समूहको आधिकारिक बिक्रेताको अधिकार खोसेर त्रिवेणी समूहले लगेसँगै एमभी दुगड् समूह त्यसको बदलामा विकल्प खोज्दै आएको थियो । जेसिस्टको बिक्री बढाउन उक्त समूहले आक्रमक बजार विस्तारको रणनीति लिएको देखिन्छ ।  
 
ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय सवारी साधनको क्षेत्रमा सहभागिता  जनाएको बताउँदै विवेक अटोमोवाइल्सका प्रवन्ध निर्देशक विवेक दुगडले १२ पैसामा एक किलोमिटरको यात्रा गर्न सकिने बताए । 

जेसिस्ट स्कुटर रातो, सेतो र कालो गरी तीन रंगमा उपलब्ध छन् । यस स्कुटरमा प्रयोग हुने टायर हाल नेपालमा उपलब्ध स्कुटरहरुमा सबैभन्दा ठूलो रहेको छ । खाल्डाखुल्डी बाटोमा चलाउँदा लचकता हुने भएकाले हिमाल, पहाड तथा तराई सबै क्षेत्रहरुका लागि जेसिस्ट स्कुटर उपयुक्त हुने कम्पनीको विश्वास छ । 

चोरी हुनबाट जोगाउने र चार्ज गर्न समेत सहज हुने यस स्कुटरमा प्रयोग हुने ब्याट्री एक पटक चार्ज गरेपछि सय किलोमिटरसम्म गुड्छ । फास्ट चार्जिङ सुविधा भएकाले ब्याट्री १० मिनेटमै पूर्ण चार्ज हुने दुगडले बताए । 

यसको स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी तीन वर्ष तोकिएको छ । विद्युतीय स्कुटर धेरै मानिसहरुले प्रयोग गर्नु भनेको वातावरणलाई सुरक्षित पार्नु पनि हो भन्दै विवेक दुगडले अब विद्युतीय सवारी साधनलाई नै सरकारले पनि प्राथमिकता दिनुपर्ने बताए ।  

कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले फरक खालको विशेषता भएको जेसिस्ट इलेक्ट्रिक स्कुटरतर्फ  ग्राहकहरुले ध्यान दिनुपर्ने बताए । 

 

Advertisement

Advertisement