दक्ष जनशक्ति पाइयो भने न्युयोर्क, सिड्नी र पेरिसको व्यापार ल्याउनु ठूलो कुरा होइन्ः रायमाझी

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले राजनैतिक अस्थिरताका कारण देशको शासन व्यवस्थामा आउने फेरबदल तथा सरकारी निकायको ठाडो हस्तक्षेपको शिकार आफूहरु बन्नुपरेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सरकारी निकाय र विशेषगरी बीमा क्षेत्रको नियामक निकायाट त्यति सहयोग पाउन नसकेको पनि बताए । त्यस्तो सहयोग नपाउँदा आफूहरुले धेरै खालको चुनौतिको सामना गर्नुपरेको रायमाझीको भनाई छ । 

Advertisement

उनले भने, ‘हामीहरुले धेरै कुरा मागेका छैनौं । अहिले देशको राजनीतिक अवस्था र शासन व्यवस्थाबाट हामीलाई सहयोग हुनुपर्ने बेला छ । सरकारी निकाय र बीमा क्षेत्रको निकायक पनि सकारात्मक बन्नुपर्ने बेला छ । तर त्यो हुन सकेको छैन् ।’ 

नेपाल पुनर्बीमाको कुल चुक्ता पुँजी १२ अर्ब २५ करोड रुपियाँ रहेको छ । सोमध्ये सरकारको हिस्सा ४४.०४ प्रतिशत (पाँच अर्ब ३८ करोड ७१ लाख रुपियाँ) छ । बाँकीमध्ये सर्वसाधारणको हिस्सा १६ प्रतिशत छ भने बाँकी ४९.९६ प्रतिशत विभिन्न क्षेत्रको छ । 

अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै व्यवसाय संरक्षण कसरी गर्ने ? भन्ने हो भन्दै रायमाझीले देशको विषम आर्थिक अवस्थाले हरेक क्षेत्रमा आर्थिक चुनौती थपेको बताए । उनले भने, ‘बीमा क्षेत्र पनि त्यसबाट अछुतो छैन् ।’ 

नेपाल पुनर्बीमाले आफ्नो रणनीतिक योजना पनि तयार गरेको उनले जानकारी दिए । सीईओ रायमाझीले भने, ‘नेपाल पुनर्बीमा कम्पनीले पनि आफ्नो रणनीतिक योजना तय गरिरहेको अवस्था छ । अहिले हामीले सबैभन्दा पहिले सबै कम्पनीहरुको रेटिङ गर्ने योजना बनाएका छौं । उक्त रेटिङले बीमा कम्पनीहरुको व्यवसाय व्यवस्थापनमा सहजता पुग्ने विश्वास छ ।’ 

आफूहरुले केही दिनभित्रै अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर जडानको प्रक्रिया अघि बढाएको बताए । उक्त सफ्टवयरमार्फत कारोबार गर्दा छिटो, छरितो, विश्वस्नीय हुने रायमाझीले बताए । उनले सफ्टवयर धेरै विशेषतासहितको भएकाले यो बजार सुहाउँदो हुने दावी गरे । 

सीईओ रायमाझीले नेपाल पुनर्बीमा कम्पनीले जोखिमको संभाव्यता अध्ययन गरिरहेको बताउँदै उक्त अध्ययन अनुसार विभिन्न बीमा पुलको आवश्यकता देखिएको बताए । केही समयभित्रै कम्पनीले प्राकृतिक विपत्ति पुल, हवाई पुल, भूकम्पीय जोखिम पुल, स्वास्थ्य बीमा पुल सञ्चालनमा ल्याउने उनले बताए । 

सीईओ रायमाझीले हाल आफ्नो कार्यालय भाडा तिरेर अर्काको भवनमा बस्दै आएकोमा चाँडै नै नयाँ बानेश्वरस्थित आफ्नै जग्गामा कार्यालय भवन निर्माण गर्ने जानकारी दिए । साथै, उनले चाँडै नै राजधानीमा आफ्ना भगिनी संस्थाहरु समेत स्थापना हुने बताए । ती संस्थाहरु के के हुन् र के उद्देश्यले स्थापना गर्न लागिएको हो ? सो भने रायमाझीले खुलाएनन् । 

उनले आफूहरुको व्यवसाय जीवन तथा निर्जीवन दुवैसँग सम्बन्धित हुने बताउँदै सोही कारण नेपाल पुनर्बीमाले जीवन बीमा क्षेत्रमा लामो समय बिताएका एलिको (अमेरिकन लाइफ इन्स्योरेन्स)का रामकुमार यादवलाई बीमाविज्ञको रुपमा नियुक्त गरेको जानकारी दिए । निर्जीवन बीमातर्फ पनि विज्ञको आवश्यकता भए पनि सो क्षेत्रको विज्ञ भने आफूहरुले फेला पर्न नसकेको रायमाझीले बताए ।  उनले जनशक्ति अभाव नेपाल पुनर्बीमाको मात्र समस्या नभएर समग्र बीमा क्षेत्रको समस्या भएको बताए । रायमाझीले निर्जीवततर्फ योग्य जनशक्ति फेला परे आफूहरु विदेशी जोखिम तयार रहेको बताए । 

उनले बीमा क्षेत्रका सरकारी कम्पनीहरुमा लामो समयदेखि साधारणसभा ठूलो समस्या बन्दै आए पनि नेपाल पुनर्बीमामा भने त्यो स्थिति नरहेको बताए । रायमाझीले भने, ‘म आएपछि पाँचौ, छैटौ र सातौ साधारणसभा सम्पन्न भइसक्यो । अब आगामी वैशाख २१ गते अर्को साधारण सभाका लागि मिति तय भइसकेको छ ।’

सीईओ रायमाझीले विगतमा नेपाल पुनर्बीमा कम्पनी एक्लै भएकाले एकाधिकार भए पनि अहिले निजी क्षेत्रको हिमालय पुनर्बीमा कम्पनी आएको बताउँदै सोही कारण आफूहरुको व्यवसायीक रणनीतिमा फेरबदल गर्नुपर्ने स्थिति सिर्जना भएको स्वीकार गरे । उनले भने, ‘हामी हाम्रो व्यवसायीक राणनीति पुनरावलोकन गर्ने योजनामा छौं । अहिलेको बजार र विगतको बीमा बजार पुनर्बीमाका लागि फरक भएको अवस्था छ । एकतिर हाम्रो मनोपोली चल्दैन भने अर्कातिर हामीले विश्वभर नै पुग्ने योजना बनाउन जरुरी छ ।’ 

समयसामेक्ष जनशक्ति पाएमा विश्वभर व्यापारका लागि नेपाल पुनर्बीमा कम्पनी तयार रहेको रायमाझीले बताए । उनले न्युयोर्क, सिड्नी र पेरिसको व्यवसाय ल्याउनु आफूहरुको लागि ठूलो कुरा नभएको बताए । 

Advertisement

Advertisement