यो वर्ष सीएसआरमा धेरै खर्च गर्ने कम्पनीमा कुन कुन छन् ? तर पारदर्शीतामा प्रश्न, अनुगमन छैन्

Advertisement

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्ने ठूला कम्पनीहरुमध्ये सूर्य नेपाल प्राली सबैभन्दा अगाडि देखिन्छ । उसले गएको आर्थिक बर्ष २०७८–७९ मा एक्लै २० करोड ८५ लाख रुपियाँ खर्च गर्न रकम छुट्टाएको दावीसहितको विवरण सरकारी निकायलाई दिएको छ । 

सूर्य नेपालले गएको आर्थिक बर्षको नाफाको एक प्रतिशत बराबरको रकम यस बर्ष सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । आर्थिक वर्ष २०७८–७९ मा ४७ अर्ब ४० करोडको व्यापार गरेको उसले २० अर्ब हाराहारीमा नाफा गरेको थियो । नाफाको एक प्रतिशत रकम सीएसआरअन्तर्गत उसले खर्च गर्नुपर्ने हुन्छ । 

Advertisement

औद्योगिक व्यावसाय ऐन २०७६ अनुसार हरेक बर्ष प्रत्येक कम्पनीले नाफाको एक प्रतिशत सीएसआरमा खर्च गर्नुपर्ने नियम छ । यस्तो रकम अघिल्लो बर्षको नाफाबाट छुट्टाएर पछिल्लो बर्षमा खर्च गरेको देखाउनुपर्ने हुन्छ । सोही नियमअनुसार सूर्य नेपालले गएको आर्थिक वर्षमा १५ करोड रुपियाँ खर्च गरेको थियो । 

यसरी सीएसआरमा यस बर्ष धेरै खर्च गर्ने दोस्रो कम्पनीमा दुरसञ्चार कम्पनी एनसेल छ । यस बर्ष उसले सीएसआरमा १७ करोड एक लाख रुपियाँ खर्चिंदैछ । यस्तै मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले यस बर्ष सीएसआरअन्तर्गत एक करोड एक लाख खर्च गर्नुपर्नेछ । 

गत बर्ष धेरै नाफा गर्ने कम्पनीमध्येमा रहेको विद्युत उत्पादक कम्पनी भोटेकोशी पावर कम्पनीले नियमानुसार यस बर्ष सात करोड ४७ लाख रुपियाँ सीएसआरमा खर्च गर्नुपर्ने हुन्छ । उसले यति ठूलो रकम सीएसआरमा खर्च गर्छ कि गर्दैन् ? स्पष्ट हुन् सकेको छैन् । 

यसैगरी मैनावती स्टिल प्रालीले यस बर्ष नौ करोड ९९ सय लाख खर्च गर्दैछ । उसको यो एकै आर्थिक बर्षको नाफाबाट छुट्टाइएको सीएसआरको पैसा होइन् । यस्तै, डाबर नेपालले दुई करोड १७ लाख खर्च गरेको छ । भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर नेपाललाई सरकारलेधेरै निर्यात गर्ने कम्पनीको रुपमा सम्मान पनि गर्ने गरेको छ ।

यस्तै, एशियन पेन्टस्ले गत बर्षको नाफाबाट यस बर्ष सीएसआरमा दुई करोड पाँच लाख खर्चिंदै छ भने यसैगरी, खाने तेल बिक्रेता गणपति वनस्पती प्रालीले एक करोड २२ लाख, इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले दुई करोड ६८ लाख, चिनियाँ लगानीको सिमेन्ट कम्पनी होङसीले ७७ लाख रुपियाँ, स्वदेशी लगानीको सिमेन्ट कम्पनी घोराहीले २२ लाख ६३ हजार, कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई र काठमाडौंले ३६ लाख ९६ हजार रुपियाँ, मदिरा उत्पादक कम्पनी विजय डिस्टिलरीले ३१ लाख २४ हजार रुपियाँ, विश्वकर्मा सिमेन्टले २६ लाख रुपियाँ, सोनापुर मिनरल्सले २५ लाख २६ हजार रुपियाँ खर्चिंदैछन् । 

यसरी हेर्दा बर्षेनी अर्बौंको कारोबार गर्ने बहुर्राष्ट्रिय कम्पनीहरु बोटलर्स नेपाल, डाबर नेपाल, होङ्सी सिमेन्ट जस्ता कम्पनीको सीएसआरमा रहेको रकम अपेक्षाकृत निकै न्यून र अस्वाभाविक देखिन्छ । हरेक बर्ष निकै आकर्षक नाफा गर्ने युनिलिभर नेपालको भने सीएसआरमा धेरै खर्च गर्ने कम्पनीहरुको सुचीमा नाम नै देखिन्न । 
 
सीएसआरमा धेरै रकम छुट्टाएका कम्पनीहरुले गर्ने खर्चको पारदर्शीमा पनि प्रश्न उठ्दै आएको छ । यी कम्पनीहरुले जुन वर्ग र क्षेत्रलाई सहयोगको आवश्यकता परेको छ, उनीहरुलाई लक्षित गरेर खर्च नगर्ने, थोरै रकम खर्च गरेर बाँकी रकम कृतिक खर्च देखाएर अपचलन गर्ने, सीएसआरको पैसाबाटै नेता, प्रशासक, न्यायाधीशको विदेश भ्रमण र सुविधाका लागि खर्च गर्ने, कम्पनीका उच्च व्यवस्थापक र सञ्चालकहरुले अनियमितता गर्ने गरेको आरोप लाग्दै आएको छ । सीएसआर खर्चको नजिता देखिन नसके पनि यसको कडाईका साथ अनुगमन र नियमन गर्नेतर्फ सरकारले ध्यान गएको छैन् । 

Advertisement