खुम्बुमा भारी बोक्ने ‘पोर्टर’हरुको दयनीय अवस्था, न राम्रो खाने बस्ने सुविधा, न राम्रो ज्याला

Advertisement

काठमाडौं । सोलुखुम्बुको एभरेस्ट बेस क्याम्प (आधार शिविर), एभरेस्ट थ्रि पास (रेन्जो ला, चो ला र कोङ्गमा ला), लोबुचे, गोक्यो, थामे, आइल्याड पिक, गोरक्षेपलगायत क्षेत्रमा पर्यटकहरु बढी पदयात्रा गर्छन् । सोही ठाउँहरुमा पर्यटकहरुसँगै पोर्टर (भरिया) पनि पर्यटकको गहुंगो भारी बोकेर सँगै हिंडिरहेका देखिन्छन् । 

सगरमाथा क्षेत्रमा विभिन्न गन्तव्यमा पदयात्रा गर्दा विशेषगरी लोबुचे क्षेत्रमा जान पोर्टरहरु त्यति रुचाउँदैनन् । त्यसको कारण हो ‘पोर्टर हाउस’ । लोबुचे क्षेत्रमा पोर्टर हाउस धेरै छैन् । भएका पनि पोर्टर अटाउने क्षमताका छैनन् । खाने र बास बस्ने सुविधा पनि राम्रो छैन् । 

Advertisement

पोर्टरको काम गर्दै आएका भोजपुरका भरतकुमार राई भन्छन्, ‘अरु क्षेत्रमा भन्दा लोबुचेमा पोर्टरको लागि बस्ने, खाने सुविधा त्यति राम्रो छैन् । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने हो । दिँदैन ।’ 

पोर्टरहरुले सिर्जनमा ६–७ पटकसम्म खुम्बुमा रहेको विभिन्न क्षेत्रहरुमा पर्यटकहरुको भारी बोकेर पुराउँछन् । तर उनीहरुले पाउने पारिश्रमिक र खाने बस्ने सुविधा हेर्दा दयनीय देखिन्छ । पोर्टरहरुको पक्षमा दह्रोसँग आवाज उठाइदिने पनि कोही देखिन्न् । 

लोबुचेमा रहेको पोर्टर हाउसमा खानेकुरा ताजा भनिए पनि बासी र नमिठो हुने गर्छ । हरेक दिन बढी भएको खाना भोलिपल्ट खुवाइन्छ । खाँदा नै नमिलो र अमिलो हुने पोर्टरहरुको गुनासो छ । अर्का एक पोर्टरले भने, ‘खानेकुरामा सबै भन्दा खत्तम हाम्रो हो । दाल त खानै नहुने हुन्छ । हामीलाई एकदम हेप्छ । त्यही भएर हामी धेरै बस्दैन् । बरु विदेश काम गर्न जान ठिक छ ।’

पोर्टर हाउसमा खानपिन र बस्ने सुविधा राम्रो भए र ज्याला राम्रो हुने भए आफ्नै मुलुकमा काम गर्न तयार रहेका पोर्टरहरु आफूहरुप्रति विभेद नहुने र जीवनयापन गर्न पुग्ने पारिश्रमिक पाउने भए नेपालमै सेवा गर्न तयार देखिन्छन् । तर उनीहरुको त्यो भावना बुझिदिने न सरकार छ  न पर्यटन क्षेत्रका सरोकारवाला छन् । । 

सिजनमा हिमाली पदयात्रा र आरोहणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुले सगरमाथा क्षेत्रमा निकै चहलपहल बढ्ने गर्छ । पोर्टरहरु पनि त्यत्ति नै संख्यामा उनीहरुसँग गइरहेका देखिन्छन् । उनीहरुलाई लजमा नराखेर पोर्टर हाउसमा राख्ने गरिन्छ र खाने बस्ने व्यवस्था नै भिन्न गरिन्छ ।    

अर्का पोर्टरका अनुसार सिजनमा भारी बोकेर लोबुचे पुग्दा एउटा मात्रै पोर्टर हाउस छ । यो पोर्टर हाउस ३२ जना क्षमताको मात्रै छ । तर पोर्टर सय जनासम्म पुगेको हुन्छ । भारी बोकेको एक हजार तीन सयदेखि दुई हजारसम्म प्राप्त हुन्छ । पोर्टर हाउसले भने एक दिन खाएको बसेको नै नौसय लिइदिन्छ । पैसा तिरेअनुसार राम्रो बस्ने खाने सुविधा दिए पनि सन्तोष मनाउने ठाउँ हुन्थ्यो । तर दिँदैन् ।  

लोबुचेमा पोर्टर हाउस थप्ने र खाने बस्ने सुविधामा सुधार गरिदिने हो भने आफूहरुलाई राहत हुने थियो भन्दै पोर्टरहरुले यो काम सगरमाथा राष्ट्रिय निकुञ्ज र गाउँपालिका दुवैको दायित्व भएको बताए । भरतकुमार राईले भने, ‘निकुञ्जलाई भन्यो भने बस्ने व्यवस्था मिलाउँछु भनेर भनेको कोरोना महामारीदेखि नै हो । अहिलेसम्म बनाएको छैन् । पहिला ठूलो पोर्टर हाउसमा करिब क्षमता पुग्ने थियो । त्यो बन्द गरिदियो । त्यो हाउस अल्ली नाजुक थियो । भत्किएला जस्तो भएर बन्द गरेको ।’ 

तर पोर्टर धेरै भएको बेला अहिलेको पोर्टर हाउसको मालिकले त्यही भत्किन लागेको पोर्टर हाउसमा आफूहरुलाई राख्ने गरेको गुनासो गरे । 

त्यस्तै, पोर्टरहरुले भारी लिएर खुम्बुका विभिन्न ठाउँमा जाँदा उनीहरुसँग हरेक पटक सगरमाथा राष्ट्रिय निकुञ्जले २५ रुपियाँ अशुल्ने गरेको छ । पोर्टरहरुसँग उठाएको पैसा कहाँ जान्छ ? भर्खर १७ बर्ष भएका र विवाह गरी बच्चासमेत जन्माइसकेका विश्वकर्मा थरका पोर्टरले भने, ‘हरेक पल्ट पैसा लिन्छ । पैसा कहाँ जान्छ ? थाहा छैन् ।’ अरु कुनै काम नपाएका कारण बाध्य भएर भरिकाको काम गरेको गुनासो गरे । ‘बच्चा छ । श्रीमती छ । पाल्न पर्यो । अहिले बल्ल १७ बर्ष भयो । अर्को बर्ष १८ हुन्छ । त्यसपछि नागरिकता बनाउने । अनि बाहिर जाने । 

सगरमाथा क्षेत्रमा बर्षौंदेखि पोर्टरको काम गर्दै आएका धेरै मानिसहरु छन् । तर उनीहरुको सहज जीवनयापन र जीवन सुरक्षाका विषयमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रका व्यवसायिक संघसंस्थाहरुको ध्यान पुगेको छैन् । भरतकुमार राईले पुनः थपे, ‘खुम्बु क्षेत्रका विभिन्न ठाउँहरुमा पोर्टरको धेरै काम गरिसकें । पोर्टरहरुलाई गाह्रो भएको देख्दा मलाई नै दुःख लाग्छ । तर हाम्रो कुरा कसैले सुन्दैन् । लोबुचेसम्म भारी बोकेर गएपछि र फर्किएपछि त्यो ठाउँमा फेरि फर्किएर जानु नपरोस् जस्तो लाग्छ । तर के गर्नु खानलाई काम गर्नैपर्यो । एक पटक गयो भने कमाएको आधा पैसा खानामै जान्छ ।’ 

एभरेस्ट बेस क्याम्प र एभरेस्ट थ्रि पासमा जाने आउने पोर्टरहरु बढी दबाब हुने गरेको राईको भनाई छ ।  उनले भने, ‘पर्यटकहरुलाई मात्र राम्रो गर्ने, पोर्टर भनेको केही होइन भने ठान्नु गलत हो । यस्तै भइरह्यो भने धेरैले पोर्टर काम गर्दैन जस्ता लाग्छ मलाई ।’

Advertisement