पत्रकारहरु बिक्रीमा छन्ः सभामुख घिमिरे, ‘बिग हाउसले थर्काएर, किनेर, फकाएर प्रभावित पारे’

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको गुनासो गरे । 

त्यसबाट मुक्त हुन पनि घिमिरेले सल्लाह दिए । उनले मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको भन्दै घिमिरेले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको आरोप लगाए । त्यसको प्रभाव समाजमा परिरहेको पनि उनले बताए । 

Advertisement

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउँदै सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्नसक्ने पनि बताए । 

उनले भने, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो, अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त विक्रीमा छन पत्रकारहरु । अब पत्रकारहरु बिक्रीमा छन । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईंहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ ।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगी बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए । उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताए । 

Advertisement

Advertisement