काँग्रेसको निर्णय– दाहाल सरकारले संविधानको रक्षा गर्ने अपेक्षासहित हामी पनि सरकारमा जाने

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आईतवार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार बिस्तार हुने बताए । महतले संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको बताए । 

Advertisement

उनले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको बताए । महतले आज बस्ने संसद बैठकबाट काँग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताए । 

उनले भने, ‘चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्नुभएको छ, उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यही किसिमको निर्देशन कार्य सम्पादन समितिले संसदीय दललाई निर्देशन गर्नेछ । संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ । नेपाली काँग्रेस पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । यस बाहेक उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको छ । आजकै संसद बैठकबाट सप्रतिपक्षबाट सत्तापक्षमा जाने निर्णय भएको छ । विश्वासको मत लिएपछि सरकारमा जाने हो । नेतृत्वले सुझाव सल्लाह लिएर कसको नेतृत्वमा जाने भन्ने निर्णय गर्नेछ । मन्त्रीपरिषद्मा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर जाने निर्णय भएको छ ।’

महतले बैठकमा कसको निर्णयमा काँग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पारे । उनले काँग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए । महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रश्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताए ।

Advertisement

Advertisement