प्रभु र महालक्ष्मीको ‘डिमर्जर’ नहुने, आईपीओ निष्काशन महालक्ष्मीको अधिकार होः सिलवाल

Advertisement

काठमाडौं । मर्जरका लागि प्रारम्भिक सम्झौता सम्पन्न गरेर एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा जुटिरहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कुनै पनि हालतमा मर्जर भंग (डिमर्जर) गर्न नपाउने नेपाल बीमा प्राधिकरणले बताएको छ । 

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सबै बीमा कम्पनीहरु अब मर्जरकै अन्तिम चरणमा रहेकाले डिमर्जरको सम्भावना टरेको बताएका छन् । प्राधिकरणको नीतिअनुसार चुक्ता पुँजी बढाउन मर्जरको बाटो रोज्न बाध्य भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले मर्जरभन्दा अगाडि नै प्रिमियम मूल्यमा साधारण शेयर निकाष्शन (आईपीओ)को तयारी गरेपछि डिमर्जरको आशंका गरिएको थियो । 

Advertisement

महालक्ष्मी लाइफले आईपीओ निष्काशन गर्न अहिले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि मर्जर आवश्यक रहेकाले आईपीओ निकाले पनि मर्जरबाट भाग्न कुनै कम्पनी नपाउने स्पष्ट पारेको छ । 

सिलवालले कर्पोरेट नेपालसँग भने, ‘महालक्ष्मी लाइफ र प्रभु लाइफले मर्जरका लागि हामीसँग अनुमति लिइसकेको छ । सबै बीमा कम्पनीहरुले यही चैत मसान्तसम्म आफ्नो पुँजी वृद्धि गर्नुपर्ने अवस्था छ । जहाँसम्म कुरा रह्यो महालक्ष्मी लाइफले आईपीओ ल्याउने, त्यो पनि उसको कुरा हो । आईपीओ निष्काशन गर्न पाउँछ । नयाँ कम्पनीले ३० प्रतिशत बराबरको आईपीओ ल्याउन मिल्ने व्यवस्था छ । हामीलाई जसरी पनि तोकिएको पुँजी चाहिएको हो । बीमा कम्पनीहरु बलियो होउन । बीमितलाई जोखिम कम होस् भनेर हो । धितोपत्र बोर्डले स्वीकृति दियो भने महालक्ष्मी लाइफले आईपीओ ल्याउँछ त ।’ 

यसअघि प्रभु इन्स्योरेन्स र अडोज इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया अघि बढाएपछि दुई पक्षबीच कुरा नमिल्दा डिमर्जर भएको थियो । अरु चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति पाइसकेको अवस्थामा महालक्ष्मीले पनि ल्याए कुनै नौलो मान्नु नपर्ने उनले बताए । 

यता महालक्ष्मी लाइफका प्रतिस्पर्धी केही बीमा कम्पनीले मर्जरबाट पुँजी पुग्ने भएपछि प्रिमियम मूल्यमा आईपीओ ल्याउन खोज्नु गलत भएको बताउँदै आएका छन् । उनीहरुको यो तर्कप्रति सिलवालले विमति जनाए ।

यता महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले नयाँ कम्पनी भएकाले आफूहरुले आईपीओ निष्काशन गर्न पाउनु स्वाभाविक भएको बताए । उनले भने, ‘हामीले आईपीओको लागि अनुमति मागेका छौं । किनभने, पुँजी ठूलो बनाउनुपर्छ भन्ने निर्देशन छ । सोही निर्देशन अनुसार पुँजीको आकार बढाउन मर्जरमा जानुपरेको हो । नयाँ बीमा कम्पनीले आईपीओ निकाल्न पाउने व्यवस्था छ । सोही व्यवस्था महालक्ष्मी लाइफले पनि पाउनुपर्छ भन्ने हो ।’ 

भट्टराईले आईपीओ निष्काशन र मर्जरका लागि आफूहरुले प्रक्रिया अघि बढाएको बताउँदै अब दुई वटा नियामक निकायले जस्तो निर्णय गर्छन्, सोहीअनुसार आफूहरु अघि बढ्ने बताए ।  

त्यस्तै, महालक्ष्मी लाइफसँग मर्जरमा जान तयार रहेको प्रभु लाइफका सीईओ सन्तोष प्रसाईंले महालक्ष्मीले आईपीओ निष्काशन गरेर मर्जरमा जाँदा राम्रै हुने बताए । उनले भने, ‘कम्पनीको चुक्ता पुँजीको आकार ठूलो बनाउने सन्दर्भमा मर्जरको लहर चलेको हो । हामी पनि त्यही भएर मर्जरमा जान खोजेको हो । महालक्ष्मीले आईपीओ जारी गरेर आफ्नो पुँजी झनै ठूलो बनाउँछ भने त यसले मर्जरलाई अझै समर्थन गर्छ । किनभने पूँजी बढाउनु अहिलेको आवश्यकता हो ।’ 

आईपीओ निष्काशनले मर्जरलाई प्रभावित नपार्ने प्रसाईंको भनाई छ । उनले प्रभु लाइफ र महालक्ष्मी लाइफको आईपीओ निष्काशन र मर्जर यात्रा दुवै सफल हुने दावी गरे । 

Advertisement

Advertisement