बैंकको ब्याजदर तिर्न नसक्ने अवस्था आयो, समस्या समाधान नभए होटल बन्द गर्छौं: हान

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । 

सोमवार पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरे होटल बन्द गर्ने चेतावनी दिएको हो । सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको समाधानको लागि पहल नगरिएको हानको गुनासो छ । 

Advertisement

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणको साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए । उनले सरकारका नीति निर्माताहरु, संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरुबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको बताए । 

उनले पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको बताए । साहले राष्ट्रिय बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको बताए । उनले होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्युबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनरसंरचना, पुनरतालिकीकरण र बढ्दै गएको व्याजदर एकल अंकमा झार्न माग गरे । साहले पछिल्लो समय होटलको अकुपेन्सी २५ प्रतिशत मात्रै रहेको बताए । 

संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइन् । 

राणाले नेपालको पर्यटन क्षेत्र ५० प्रतिशत मात्रै लयमा आएकाले पर्यटक क्षेत्रको विकासमा चुनौती रहेको बताइन् । उनले सरकारले होटल व्यवसाय सबै फस्टाएर पर्यटन व्यवसाय सामान्य अवस्था आयो भने पनि सामान्य अवस्थामा नआएको बताइन् । राणाले पर्यटन क्षेत्रलाई सरकारले उद्योगको मान्यता नदिएको भन्दै होटल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरिन् । 

उनले होटलहरुको संरक्षणको लागि बढी भन्दा बढी विदेशी पर्यटक ल्याउन आवश्यक रहेको बताइन् । उनले सरकारको आगामी नीति होटल व्यवसाय गर्ने वातारण हुने खालको हुनुपर्ने आवश्यकता रहेको बताइन् । 

Advertisement

Advertisement