‘बरु गिरिजाप्रसाद हुँदा जनतामा आशा थियो, अहिले त सबै आत्तिएर देश छोड्न खोज्दैछन्’

गिरिजाप्रसादको आर्थिक नीतिले मुलुक आजसम्म टिकेको छ, तर उनलाई जस दिन सकिएनः गगन

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । 

जनयुद्धका नाममा युद्ध अपराध गर्ने र निर्दोष मानिसहरुलाई निर्मम ढंगले हत्या गर्नेहरुलाई कडा कारवाही गर्न दबाब बढ्दै गएको बेला थापाले मंगलबार आयोजित एक कार्यक्रमममा घाटा नाफाभन्दा बाहिर निस्किएर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने बताएका हुन् । 

Advertisement

‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक कार्यक्रममा थापाले शान्ति प्रक्रियाको काम जति ढिलो भयो, त्यति जटिल हुने स्वीकार गरे । पीडितको भावनामाथि चोट पुर्याउने काम गर्न नहुने बताउँदै उनले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन आग्रह गरे । थापाको आग्रह एमालेतर्फ लक्षित थियो । 

शान्ति प्रक्रियालाई पूर्णता नदिँदा पीडितको भावनामाथि चोट पुग्ने र र यो अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित हुन जाने भन्दै उनले कसैले पनि यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने कामबाट भाग्न नहुने बताए । गिरिजाप्रसादको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व काँग्रेसले नै लिनुपर्ने थापाको भनाई छ । 

उनले भने, ‘हामी सबैले दलीय संर्कीणता वा तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौ भने अझ यो जटिल बन्दै जान्छ ।’ 

गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको थापाको जिकिर छ । उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिके पनि उनले जस नपाएकोले उनीमाथि अन्याय भएको तर्क गरे । 

थापाले भने, ‘हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्ने गरेका छौं । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावमा टेकेका छौं ।’

आज प्रत्येक मान्छे मुलुकको अवस्था देखेर आत्तिएको स्वीकार गर्दै उनले खासगरी तन्नेरीहरु यसबाट बढी आत्तिएको बताए । सोही कारण उनीहरु देश छोडेर जान चाहिरहेको बताए । थापाले भने, ‘मान्छेले नेपालमा बसेर गल्ती पो गर्यौ कि ? भन्न थालेका छन । गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको आन्दोलन २०६० सालतिर बरु हामी मान्छेहरुलाई आशावादी बनाउन सकिरहेका थियौं ।’

Advertisement