राजस्व अनुसन्धान विभागले अनुसन्धान निर्देशिका बनाउने, भीसीटीएस कार्यविधि अन्तिम चरणमा

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनुसन्धान निर्देशिका र भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कार्यविधि बनाउने भएको छ । विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशिका र कार्यविधि बनाएको हो । 

अनुसन्धान निर्देशिका र भीसीटीएस कार्यविधि नहुँदा विभागले प्रभावकारी ढंगबाट काम गर्न सकेको छैन । अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशिका र कार्यविधि बनाउन लागेको हो ।

Advertisement

विभागमा महानिर्देशकको रुपमा नारायणप्रसाद सापकोटा गएपछि निर्देशिका र कार्याविधि अगाडि बढाउन निर्देशन दिइएको हो । महानिर्देशक सापकोटाले भने ‘मैले विभागमा बसेर गर्न सक्ने २ किसिमका काम छन् । पहिलो अनुसन्धान निर्देशिका दोस्रो भीसीटिएस कार्यविधि बनाउने ।’

यी विषयलाई व्यावस्थित गर्न सके धेरै विषयहरु प्रणालीमा आउने सापकोटाको भनाई छ । सापकोटाले कार्यभार सम्हाल्ने वित्तिकै भन्सार चेकजाँचमा कडाई सुरु गरेका छन् । उनले विभिन्न भन्सार नाकामा जाँचपास भएका सवारीलाई छड्के चेकजाँचलाई तिब्रता दिएका छन् । विभागमा आफू रहँदा कुनैपनि सेटिङमा काम नगर्ने दाबी गर्दै आएका छन् । यस्तै आफूसित काम गर्ने टिमलाई समेत जिम्मेवारी बनाउन निर्देशिका र कार्यविधि बनाउन लागेका हुन् ।

के हो अनुसन्धान निर्देशिका ? 
विभागले अहिले विभिन्न किसिमका अनुसन्धान गर्दै आएको छ । विभागको प्रमुख काम राजस्व चुहावटलाई कम गर्नु नै हो। जस अनुसार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, सामायिक कर असुली ऐन २०१२, विदेशी विनिमय नियमित गर्ने ऐन २०१९  लगायतलाई मुल आधार बनाएर अनुसन्धान प्रकृया अघि बढाउने गरेको छ । विभागले भन्सार महसुल र आन्तरिक राजस्व दुई थरी गरी अनुसन्धान अघि बढाउने गरेको छ ।

यसरी अनुसन्धान अघि बढाउँदा स्पष्ट योजना नहुँदा अनुसन्धान प्रक्रिया निर्दिष्ट हुन सकेको छैन । अनुसन्धान निर्देशिका कुनै फर्म, कम्पनी, सवारी प्रक्राउ गरिसकेपछि अनुसन्धान कसरी अघि बढाउने भन्ने कार्ययोजना हो । अनुसन्धान निर्देशिका नहुँदा अनुसन्धान अधिकृत हाबी हुने गरेका छन्। अनुसन्धान अधिकृत तोकेपछि पनि महानिर्देशकले आफ्नो अधिकार प्रयोग गरी अनुसन्धानलाई निर्क्योलमा नपुर्याई छाड्ने गरिएको छ । अनुसन्धानको निर्देशिका निर्माण गर्दा राजस्व अनुसन्धान सम्बन्धि ऐन र नियमावलीमा टेकेर निर्माण गरिनेछ ।

अहिले विभागमा अनुसन्धानमा रहेका फाइलहरु नटुङग्याइकन अलपत्र पार्ने चलन गरेको छ । राजनीतिक नेतृत्वबाट नै यो निकायलाई कमाउधन्दाको रुपमा प्रयोग गर्न थालेपछि समस्या झन् गहिरिंदै गएको छ । निर्देशिकाले अनुसन्धान अधिकृतलाई थप जिम्मेवार बनाउने दाबी गरिएको छ ।

भीसीटीएस कार्यविधि अन्तिम चरणमा
भीसीटीएसलाई व्यावस्थित गर्न विभागले कार्यविधि निर्माण अन्तिम चरणमा पुर्याएको छ । विभाग कार्यविधि बनाएर मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पठाउने तयारी गरेको हो । विभागले अहिले भीसीटिएस शाखा नै स्थापना गरेर अनुसन्धान अघि बढाउने गरेको छ । यसरी सोही शाखाको सूचनाको आधारमा सवारीलाई अनुसन्धान गर्ने गरेको छ। 

भीसीटीएस प्रणालीमा कार्यरत कर्मचारीले यदि कुनै तथ्यांक डिलिट गरे सोको जिम्मेवार कर्मचारी नहुने गरी सेटिङ मिलाइको छ । सो सेटिङको जालो मेटाउन विभागले कार्यविधि बनाइएको हो । स्रोतका अनुसार विभागमा कार्यरत पूर्व महानिर्देशकहरुले आफू खुशी प्रणालीलाई प्रयोग गर्न कमजोर सफ्टवयरको प्रयोग गरेका थिए । अब सो कमजोर सफ्टवयरलाई फेरर नयाँ प्रविधिको प्रयोग गर्ने विभागको तयारी छ ।

प्रविधिमा बस्ने कर्मचारीले चाहे गम्भीर प्रकृतिका बिलहरुलाई पनि मेटाउने र सोको रेकर्ड नभेटाउने व्यवस्था गरेपछि कार्यविधि ल्याउन लागेको हो । अहिले भीसीटीएस शाखामा कार्यरत कर्मचारीले कुनै कागजात मेटाएमा उसले कुनै जिम्मेवारी लिनु पर्दैन । कर्मचारीलाई जिम्मेवार बनाउन पनि कार्यविधि आवश्यक परेको हो ।

Advertisement

Advertisement