राष्ट्रियसभामा सरकारलाई प्रश्न– बोल्न खोज्ने युवाहरुको मुख थुनेर किन बोल्न रोकियो ?

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् । 

मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्वन्धी कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले मुख थुनेर बोल्न नदिई पक्राउ गरेको थियो । 

Advertisement

सोही विषयमा बुधबार सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन् । उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजिन् । 

पौड्यालले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? भन्दै प्रश्न गरिन् । पौड्यालले भनिन्, ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छाँै । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’

Advertisement

Advertisement